अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा, भारतीयसहित तीन जना समातिए

अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ । 

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा आउने पार्सलको सूक्ष्म निगरानी गर्दा उक्त तथ्य फेला पारेको हो । 

पछिल्ला दुई छुट्टाछुट्टै पार्सल जाँच गर्दा एउटामा चार दशमलव पाँच किलो र अर्कोमा दुई दशमलव चार किलो गाँजा फेला परेको ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उक्त घटनामा एक भारतीयसहित तीन जनालाई पक्राउ गरिएको छ । 

अमेरिकाबाट दुबई हुँदै नेपाल ल्याइएको चकलेट र बालबालिकाको खेलकुद सामग्री उल्लेख गरिएको पार्सलबाट गाँजा बरामद भएपछि उक्त पार्सल लिन आएका भारतको गुजरातका ३० वर्षीय निमेश अशोकभाइ र सर्लाहीको हरिहरपुरका २८ वर्षीय फैज आलम पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट भारतीय आधार कार्ड र ८० हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरू बस्दै आएको ठमेलको होटल खानतलासी गर्दा कोठामा एक लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको  जोशीले बताए । 

यस्तै अर्को घटनामा विमानस्थलमा यसैगरी अमेरिकाबाट आएको पार्सल जाँच गर्दा दुई दशमलव चार किलो गाँजा बरामद गरिएको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा गोरखाका रुपक अर्याललाई पनि पक्राउ गरिएको उनले बताए ।
    
उनीहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जोशीले बताए । यसरी आएको गाँजा कसले कहाँ लैजान लागेका हुन् भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन २४, २०७९ बुधबार १९:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया