युक्रेनको खार्किभ र ओडेसामा रुसी आक्रमण तीव्र, पानी र बिजुली आपूर्तिमा अवरोध

रुसले युक्रेनका ओडेसा र खार्किभ क्षेत्रलाई लक्षित गरेर हवाई आक्रमण गरेको छ । महिनौंदेखि ती क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन हमला गरेर रुसले पानी र बिजुली आपूर्तिमा अवरोध गरिरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

खार्किभका गभर्नर ओलेग सिनेगुबोभले ती क्षेत्रका महत्वपूर्ण पूर्वाधारमा १५ पटक हमला भएको बताएका छन् । प्रारम्भिक जानकारीअनुसार खार्किभ क्षेत्रको एउटा निजी आवासीय भवनमा आक्रमण भएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आक्रमणबाट भएको क्षति एवं हताहतिबारे विवरण संकलन भइरहेको उनले बताएका छन् । 

खार्किभ नगरका प्रमुख इगोर तेरेखोभले ऊर्जा पूर्वाधारमा आक्रमण भएको जनाउँदै त्यसबाट विद्युत् आपूर्तिमा समस्या भएको बताएका छन् । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम माच्र्नेकोले पनि शत्रुले ऊर्जा क्षेत्रका पूर्वाधार तथा आवासीय भवनमा क्षति भएको बताएका छन् । भाग्यवश आफ्नो क्षेत्रमा मानवीय क्षति नभएको उनले उल्लेख गरेका छन् ।

स्थानीय सैन्य प्रशासनका अनुसार किभए क्षेत्रमा हवाई प्रतिरक्षा प्रणालीलाई सक्रिय पारिएको छ । पश्चिमी खेमेलेन्स्किी क्षेत्रका गभर्नर सेइगे गमालीले देशका महत्वपूर्ण पूर्वाधारमा रुसी आक्रमण जारी रहेको बताउँदै त्यहाँका बासिन्दालाई घरबाहिर ननिस्कन तथा सावधानी अपनाउन आग्रह गरेका छन् । 

यसैबीच, किएभका नगरप्रमुख भिटाली क्लित्सकोले देशका विभिन्न भागमा हवाई आक्रमण भइरहेका बेला राजधानीमा पनि विष्फोट भएको जानकारी दिनुभएको छ । राजधानीको होलोसिम्स्की जिल्लामा विष्फोट भएको जनाउँदै उहाँले सुरक्षा निकाय तथा सेवा प्रदायकहरू घटनास्थलतर्फ प्रस्थान गरेका बताएका छन् । 

औद्योगिक शहर बाख्मुतलाई क्रमशः आफ्नो नियन्त्रण लिएको बुधबार जनाउँदै मस्कोले अन्य क्षेत्रमा पनि आक्रमणलाई तीव्र बनाएको हो । बाख्मुत दुस्मनको कब्जामा आएमा रुस अझ उत्साहित हुने भन्दै युक्रेनले शत्रुलाई रोक्न हरप्रयास गर्नुपर्नेमा जोड दिएको छ ।



युक्रेनी उपरक्षामन्त्री गन्ना मलियारले बाख्मुतमा बुधबार गरिएको प्रतिकारलाई विजय मान्नुपर्ने बताएका छन् । 



  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार १२:२६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया