एलपी ग्यास उद्योग बन्द गर्ने चेतावनी, ग्यासको हाहाकार बढ्ने संकेत

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । संघले आफ्ना माग सम्बोधन नभए सम्पूर्ण एलपी ग्यास उद्योग पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ । 

संघले फागुन २८ गते देखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योग बन्द गर्ने र ३० गतेदेखि सम्पूर्ण ग्यास विक्रेताबाट ग्यास विक्री–वितरण ठप्प पार्ने जनाएको छ ।  

संघले फागुन १६ गतेसम्म माग सम्बोधन नभए १७ गतेदेखि एलपी ग्यासको पिडिओ खरिद ठप्प पार्ने, सबै रिफाइनरीबाट ग्यास लोडिङ बन्द गर्ने, लोड भएका बुलेट भन्सार नाकाबाट नछुटाउनेलगायत कार्यक्रम सार्वजनिक गरेको हो । 

अनधिकृत रूपमा उद्योग इजाजत दिइएको, नेपाली बुलेट सञ्चालनमा ढिलाइ , बिमालगायतका माग अझै सम्बोधन हुन नसकेकाले आफूहरू काम ठप्प पार्न बाध्य भएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । 

संघले ग्यास उद्योगको सञ्चालन खर्च र विक्रेता–वितरकहरूको कमिसन निर्धारण गर्न संघको प्रतिनिधि रहने गरी छुट्टै समिति गठन गर्नुपर्ने र सो समितिको सिफारिसअनुसार वार्षिक रूपमा खर्च समायोजन हुनुपर्ने, ग्यास उद्योग सञ्चालनका लागि अनधिकृत ररूपमा दिइएका इजाजत, सम्बन्धन तथा अनुमति पत्र तत्काल खारेज गर्नुपर्ने, तराईका सबै स्थानका लागि एउटै मूल्य कायम गर्नुपर्नेलगायत माग राख्दै आएको छ । 

संघ र इँडो नेपाल बल्क ट्रान्सपोर्ट एसोसिएसनबीच २०७३ असोज २ गते ग्यास आयातमा नेपाली बुलेट मात्र सञ्चालनमा ल्याउने भनी सम्झौता भएको उललेख गर्दै संघले सो को तत्काल कार्यान्वयन गर्न कूटनितिक पहल गर्न सरकारलाई आग्रह गरेको छ । 



सिलिन्डर तथा ग्यास दुर्घटना बिमासम्बन्धी आवश्यक नीति कानुनमा नै व्यवस्था हुनुपर्ने, एलपी ग्यासको मासिक कोटा ६–६ महिनामा निर्धारण गर्नुपर्ने, इपिडिओ तथा बैंक एलसीमार्फत निगमले पिडिओ बनाउने व्यवस्था तत्काल लागू गर्नुपर्ने तथा नेपाल आयल निगमको एलपी ग्यास विनियमावली २०६५ संशोधन गर्नुपर्नेलगायत माग संघले राखेको छ ।

सरकारले संघको मागलाई ततकाल सम्बोधन नगरेमा राजधानी काठमाडौंलगायत देशभरका सहरमा ग्यासको हाहाकार बढ्ने संकेत देखिएको छ ।



  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १७:४६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया