के अब योगेश भट्टराईलाई मन्त्री बनाउलान् ओलीले ?

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको प्रचारका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो निर्वाचन क्षेत्रमा लगेका थिए, नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले । 

ओलीले आफ्नो ठट्यौली शैलीमा भाषणका क्रममा भने, ‘अब म प्रधानमन्त्री बन्छु अनि योगेशलाई मन्त्री बनाउँछु ।’ भाषणमा ओलीले योगेशको पक्षमा निकै धेरै शब्द खर्चिएका थिए । यो स्वाभाविक हो, निर्वाचन अभियानका क्रममा भएको भाषणमा ओलीले भट्टराईको गुणगान गाउनै पथ्र्यो ।

तर, मन्त्री परिषद् गठन गर्दा ओलीले आफूले गरेको त्यो भाषण बिर्सिए । आफू प्रधानमन्त्री भएकै दिन ओलीले योगेशलाई पनि मन्त्री पदको सपथ खुवाउलान् भन्ने धेरैको अनुमान फेल खायो । योगेश मन्त्री बनेनन् ।

मन्त्री नबनाएपछि केही समयसम्म योगेश भट्टराईले सरकारको खुलेर विरोध गरे, विभिन्न अभिव्यक्ति दिए । यस्ता अभिव्यक्ति सुनेपछि प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग गुनासो गर्थे– यस्तो विरोध गर्दै हिँड्नेलाई म किन मन्त्री बनाउँथे ? 

‘योगेशलाई बनाउँला भन्ने थियो, तर उसले मेरै मर्यादा पनि नराखी भाषण गर्छ, सरकारबारे बारम्बार आलोचना गर्छ,’ ओलीले केही समयअघि बालुवाटारमा भन्ने कुरालाई उद्धृत गर्दै एक नेकपा नेता सुनाउँछन्, ‘त्यस्ता मन्त्री बनाउँछु म ?’

तर, अब समय फेरिएको छ । राजनीतिमा स्थायी मित्र र स्थायी सत्रु कोही हुँदैन । 



पछिल्लो समय डा. गोविन्द केसी अनसन बसेपछि जति आक्रामक रुपमा योगेश भट्टराईले सरकारको समर्थनमा अभिव्यक्ति दिए, त्यही रफ्तारमा उनले ओलीको मनमा स्थान बनाउन सकेका छन् । ओलीलाई मात्र होइन, पछिल्लो समय योगेशले नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि दूरी निकै घटाएका छन् । 

र, पछिल्लो समय नेकपाका दुवै अध्यक्ष मन्त्रिपरिषद्मा हेरफेर गर्ने निर्णयमा पुगेका छन् । दुई अध्यक्षबीच यो सत्रको संसद्मा प्रस्तुत भएका विधेयकहरु पारित भइसके पछि मन्त्रिपरिषद्का केही मन्त्रीहरु फेर्ने मौखिक सहमति भइसकेको स्रोत बताउँछ । त्यसैले अबको केही दिनमा यो मन्त्रिपरिषद्का केही सदस्य फेरिनेछन् । 



यसले स्वभाविक रुपमा प्रश्न जन्माएको छ, के अबको मन्त्रिपरिषद्मा योगेशले स्थान पाउलान् त ?

‘ओलीले अहिले पनि योगेशलाई मन्त्रालयको नै जिम्मा दिने सम्भावना कम छ,’ नेकपा सचिवालयका एक सदस्यले भने, ‘तर, वास्तविकता चाहिँ के हो भने पछिल्लो समय यी दुई नेताको ट्युनिङ मिलेको जस्तो आभास हुन्छ । तर, ओलीको मनमा योगेशप्रति सधैं संशय रहिरहेको छ ।’

योगेश भट्टराईलाई ओलीले पूर्ण रुपमा विश्वास नगरिसकेको ती नेता बताउँछन् । ‘यसअघि पनि चर्चामा रहेका नेता रवीन्द्र अधिकारीलाई मन्त्री बनाउँदा समेत सरकारलाई झन् समस्या परेको थियो,’ ती नेताले भने, ‘त्यसैले नयाँलाई चान्स दिने भन्दा पनि ओली पुराना र अनुभवी नेताहरुलाई नै आफ्नो टिममा समावेश गराउन चाहन्छन् ।’

‘जिम्मेवारी दिए नै पनि उहाँ अहिले मन्त्रिपरिषद्मा समावेश हुने पक्षमा हुनुहुँदैन,’ के अब मन्त्रीको जिम्मेवारीमा जाँदै छन् त भट्टराई भनेर सोधिएको प्रश्नमा उनका सहयोगी प्रेम गुरगाईं भन्छन्, ‘उहाँले पार्टीलाई नराम्रोसँग खेद्न थालेको आभास भएकाले पार्टीप्रति सचेत हुँदै विभिन्न अभिव्यक्ति त राख्नु भएको छ । तर, त्यो सब उहाँ मन्त्री बन्छु भनेर होइन ।’

  • प्रकाशित मिति : फागुन ८, २०७५ बुधबार १७:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया