पूर्वमन्त्री न्यौपाने भन्छन्– झुटो मुद्दा हालेर फसाइयो, २ करोड बिगो कहाँबाट तिरौँ?

पूर्वमन्त्री बद्री न्यौपानेले आफूहरूलाई फसाइएको दाबी गरेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले साढे ९ वर्ष कैद सजाय सुनाएपछि न्यौपानेले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालका सबैलाई झूटो मुद्दा हालेर फसाइएको दाबी गरेका हुन् ।  

‘मलगायत त्यस बेलाका सबै कार्यसमिति, ठेकदार निर्दोष रहेको छौँ । वारेसलाई मुद्दा लगाइएको छ । आजसम्म नेपाल–भारतलगायत कुनै पनि देशमा वारेसलाई मुद्दा र बिगो लगाएको कानुन र इतिहास छैन । टेकबहादुर वारेस हुन् । उनका भाइ रवीन्द्रलाई लाग्नु स्वभाविक हुनसक्ला । तर, वारेस र कानुनी राय दिनेलाई समेत मुद्दा लगाइयो’‚ उनले भने ।  

न्यौपानेले फैसला पुनरावलोकनका लागि सर्वोच्च अदालत जान आफूसँग एक रुपैयाँ पनि नभएको दाबी गरे । उनले जनताले सहयोग गरे आफू फैसला पुनरावलोकनका लागि अदालत जाने बताए । 

फैसलाको पूर्णपाठ आएको ३५ दिनभित्र आफूलाई अदालतले गरेको फैसला चित्त नबुझे त्योभन्दा माथिल्लो निकाय सर्वोच्चमा पुनरावलोकनका लागि जान पाउने व्यवस्था छ । 

‘पूर्णपाठ आएको ३५ दिनभित्र म जानुपर्छ । म सम्मानित अदालतमा न्यायका लागि जान्छु । तर, मसँग पैसा हुनुपर्‍यो नि१ कसैले माया गरे, जग्गा दिए । सहयोग गरे म जान्छु तर मसँग भएन भने मैले कहाँबाट ल्याउनु? त्यत्रो पैसाको बिगो (२ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा) मैले कहाँबाट तिरौँ? कहाँ धरौटी राखौँ? मसँग के छर? सडकमा बसेको सुकुमवासी मान्छे मेरो केही उपाय छैन । बद्रीलाई अन्याय भएको छ भनेर नेपाली जनताले सहयोग गरे जाने हो । नत्र म कहाँबाट जाने?’‚ रुँदै न्यौपानेले प्रश्न गरे । 

भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला सुनाएको थियो ।



न्यौपानेबाट जरिवाना तोकिएको रकमजति नै बिगो असुल गर्ने फैसला पनि विशेष अदालतले गरेको छ । न्यौपाने तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चुरे भावर पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए ।   



  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १३:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया