वाइसिएल मधेसले ५ सूत्रीय मागसहित मुख्यमन्त्री यादवलाई बुझायो ज्ञापनपत्र

योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल मधेस प्रदेश समितिले विभिन्न ५ सूत्रीय मागसहित मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएको छ ।   

मुख्यमन्त्री यादवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाइएको वाइसिएल नेपाल मधेस प्रदेशका इन्चार्ज अनिलकुमार पासवानले जानकारी दिए ।

ज्ञापनपत्रमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रकाविरुद्ध केही अमुक प्रतिगामी शक्तिहरूले अस्वाभाविक तरिकाले गरिरहेको गतिविधिप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता षड्यन्त्रकारी व्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरूको नियन्त्रण गर्न र संविधानको रक्षा विकास र व्यवस्थाको सुदृढीकरणको लागि नेपाल सरकार समक्ष माग गरिएको छ ।

ज्ञापनपत्रमा शान्ति प्रक्रियाका बाँकी कामहरूको निरुपण गर्न, द्वन्दकालिन घटनाबाट पीडित नागरिक एवं उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक निर्माण गरि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरि संक्रमणकालिन न्यायको बारेमा मुलुकमा उठेका महत्वपूर्ण विषयहरूको निरुपण गर्न शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना एवं मर्म अनुसार तार्किक निष्कर्षमा पुर्याउन माग गरिएको छ । 

जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत व्यवस्था परिवर्तनका क्रममा सहादत प्राप्त गर्ने योद्धाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न र तिनका परिवारलाई सम्मानित वातावरणमा बाँच्न सक्ने गरि उचित राहत, क्षतिपूर्ति र व्यवस्थापनको लागिसमेत माग गरिएको छ । 

देश अर्थतन्त्रको चरम संकटमा रहेको र ठूला उद्योगी व्यवसायी तथा व्यापारीहरू दिनदिनै धरापमा पर्दै विस्थापित भइरहेको अवस्थामा वित्तीय संघ संस्थाहरूबाट निम्त्याइएका समस्या गम्भीर रहेकोले ऋणीहरूलाई अनावश्यक दबाब सिर्जना गर्ने, घरबारविहीन बनाउने, आत्महत्या जस्ता जघन्य अपराधमा दुरुत्साहन गर्ने कार्यहरू भइरहेको जिकिर गरिएको छ ।  



अर्थतन्त्र संकटको यस घडीमा मिटर ब्याजीहरू सल्बलाइरहेको अवस्थामा यिनको रोकथाम र नियन्त्रण गर्न ओरालो लागेको अर्थतन्त्र मजबुत बनाउन पहलकदमीका लागि सरकारसँग माग गरिएको छ । 

सरकारका विभिन्न निकायहरूबाट भइरहेको भ्रष्टाचार, घुसखोरी र अनियमितता तथा ढिलासुस्तीको रोकथाम र नियन्त्रण गरि देशमा सुशासन कायम गरि जनताको सरकारको रुपमा प्रत्याभूत दिलाउनसमेत ज्ञापनपत्रमार्फत सरकारसँग माथ गरिएको छ । 



वाइसिएल नेपाल मधेस प्रदेशका इन्चार्ज अनिलकुमार पासवानको नेतृत्वमा मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाउन वाइसिएल नेपाल मधेस प्रदेशका सह–इन्चार्ज देवशरण साह, प्रदेश सह–संयोजक दीपक पटेल, सम्झना राई लगायतको टोली मुख्यमन्त्री कार्यालय पुगेका थिए ।  

  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १४:४२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया