कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, यस्ता छन् छलफलका एजेण्डा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बैठक बस्न लागेको हो ।  

आजको बैठकमा ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचन, १० वैशाखमा चितवन–२ मा हुने उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने र तनहुँ–१ मा हुने उपनिर्वाचनबारे छलफल हुने बताइएको छ । 

उपराष्ट्रपतिमा जसपा उम्मेदवार रामसहायप्रसाद यादवलाई कांग्रेसले सघाउने तयारी गरेको छ । जसपासहितको सहयोगमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिएको थियो ।

तनहुँ–१ बाट गत मंसिर ४ मा निर्वाचित रामचन्द्र पौडेल गत २५ फागुनमा राष्ट्रपति निर्वाचित भएका थिए । यो क्षेत्र रिक्त भए पनि निर्वाचन आयोगले भने उपनिर्वाचन मिति तोकिसकेको छैन ।

कांग्रेस बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा सहभागितालगायत विषयमा पनि छलफल हुने बताइएको छ । ५ चैतलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।

सरकारमा जाँदा कसको नेतृत्वमा जानेलगायत विषयमा पनि बैठकमा छलफल हुने एक पदाधिकारीले बताए ।  





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार ७:५५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया