उपराष्ट्रपति निर्वाचनको मौन अवधि लागू, के गर्न पाइन्छ, के पाइँदैन?

उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि लागू भएको हो । 

मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् ३० फागुन राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरिएको आयोगले जनाएको छ ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ ।

उक्त आचारसंहिता बमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् । 

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । 

साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित/हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।



चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय प्रसाद यादव र जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धामा छन् । 

यसअघि जसपाबाटै प्रमिला कुमारीको पनि उम्मेदवारी परेको थियो । तर, उनले यादवलाई समर्थन गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिइसकेकी छन् । 



  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार ८:१४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया