पाकिस्तानमा इमरान खानका समर्थक र प्रहरीबीच झडप, प्रमुख शहरमा प्रदर्शन

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच झडप भएको छ । प्रहरी र खानका समर्थकबीच आज उनकै घर अगाडि झडप भएको हो । 

पूर्वप्रधानमन्त्री खानले पनि गिरफ्तारी दिन अस्वीकार गरेका छन् । गएराति पनि पाकिस्तान तहरीक–ए– इन्साफ (पिटिआई) का कार्यकर्ता र सुरक्षाकर्मीबीच खानको जमान पार्कस्थित घर नजिक झडप भएको थियो । 

प्रहरी र अर्धसैनिक बलका जवानले अश्रुग्यास प्रहार गरेपछि खानका क्रुद्ध समर्थकहरूले ढुंगामुढाले प्रतिकार गरेका थिए । पिटिआईका एकजना कार्यकर्ताका अनुसार पानीको फोहरा र अश्रुग्यास प्रहार गर्दै आएका सुरक्षाकर्मीले गोलीसमेत हान्न थालेका बताएका छन् । 

गत वर्ष विश्वासको मत प्राप्त नभएपछि पदमुक्त भएका खानमाथि भ्रष्टाचारलगायत विभिन्न मुद्दा लगाइएको छ । उनले आम निर्वाचनको माग गर्दै आएका छन् । सार्वजनिक रूपमा सरकारका कटु आलोचना गर्दै आएका उनीमाथि प्रधानमन्त्री हुँदा प्राप्त उपहार बेचेको तथा प्राप्त आम्दानी सार्वजनिक नगरेको आरोप लगाइएको छ । 

सोही विषयमा जानकारी दिन अदालतले उनलाई बोलाएको छ । अदालतको आदेश पालना नगरेकाले उनलाई पक्राउ गर्न आफूहरू आएको एक जना वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई बताए ।  

इस्लामावाद प्रहरीका उपमहानिरीक्षक सैयद शहजाद नदीम बुखारीले अदालतको आदेश कार्यान्वयन गर्न नेता खानको घर आएको स्पष्ट गरेका छन् । पञ्जाबका प्रहरी प्रमुख उस्मान अन्वरले अदालतको आदेशलाई जुनसुकै मूल्यमा पनि पालना गर्नुपर्ने वाध्यता रहेको बताए । 



पिटिआईका समर्थकहरूको एक समूहले दक्षिणी बन्दरगाह शहर कराँची र उत्तरपश्चिमको पेशावरमा पनि जुलुस निकालेका छन् ।  उनीहरूले सडक पनि अवरुद्ध पारेका छन् । 

कुनै समयका क्रिकेट सुपरस्टार ७० वर्षीय खानलाई हिरासतमा राख्ने प्रयास यसअघि पनि भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो । प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफ्नो हत्या प्रयास गरिएको आरोप खानले लगाउँदै आएका छन् ।



पिटिआईका एक वरिष्ठ अधिकारीका अनुसार इस्लामावाद उच्च अदालतमा  खानको गिरफ्तारी रोक्न रिट दायर गरिएको छ । उक्त रिटमाथि आजै सुनुवाई हुने अपेक्षा गरिएको छ । गिरफ्तारी रोक्न अदालतबाट आदेश भएमा स्थिति स्वतः साम्य हुनेछ । पार्टीका पदाधिकारीहरूले लाहोरको अदालतमा पनि त्यस्तै रिट दायर गरेका छन् ।  

  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १३:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया