चितवन क्षेत्र नं २ मा ६ सय ३१ मतदाता थपिए

चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन ०७९ को तुलनामा यसपटक ६ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । 

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी विरोधका कार्यक्रम सकिएको उनले बताए । उनले भने, 'पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी दुई सयजना हाराहारी मतदाताको नामावली काटिनेछ ।'

चितवन क्षेत्र नं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो । 

अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने उनले बताए ।
मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । 

चैत २० मा उमेदवारी दर्ता, चैत २१ मा उमेदवारविरुद्ध दाबी विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिह्न प्रदान गरिनेछ । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन ०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो ।





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १६:२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया