उपराष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन

उपराष्ट्रपतिको उम्मेदवार तय गर्न बसेको १० दलीय गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन भएको हो । 

१० दलका बीचमा सकारात्मक रूपमा बैठक सकिएको र बिहीबार बसेर थप निर्णय गर्ने बताइएको छ । उपराष्ट्रपति चुनावका लागि १० दलको बीचमा समझदारी कायम गर्नेबारेमा छलफल भए पनि निष्कर्ष निकाल्न नसकिएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा सरकार विस्तारलगायतका विषयमा पनि छलफल सुरु भएको छ । 

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत १० दलभित्रबाटै उपराष्ट्रपतिका लागि तीनजना उम्मेदवार छन् । 

उपराष्ट्रपतिमा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । सत्तारुढ गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा उम्मेदवार छन् । यसअघि जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्न निवेदन दिइसकेकी छन् ।  

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी थिए ।  





  • प्रकाशित मिति : चैत १, २०७९ बुधबार १९:५५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया