मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयका सबै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित भएको छ। 

उच्च अदालत सुर्खेतले भोलि (चैत्र ३) गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन रोक्ने आदेश जारी गरेसँगै स्ववियु निर्वाचन स्थगित भएको हो।

बिहीबार बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारयणप्रसाद पौडेलले जानकारी दिए।

यस्तै, मंगलबार विश्वविद्यालयअन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम)का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।

उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्मका लागि भन्दै बुधबार स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो। चैत्र ८ गते दुवै पक्षलाई उच्च अदालत सुर्खेतमा उपस्थित हुन पनि आदेश जारी गरेको छ।

यस्तै, विश्वविद्यालयको बैठकले केन्द्रीय क्याम्पसको सँगै अन्य आंगिक क्याम्पसको पनि स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो।



साथै, विश्वविद्यालयले निर्वाचन सम्पन्न गर्नका लागि सहज वातावरणका लागि सम्पूर्ण विद्यार्थी संघ संगठनसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त समयमा निर्वाचनको मिति निर्धारण गरी निर्वाचन गर्ने निर्णयसमेत गरेको छ।

१० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेश र ७ वटा कर्णाली प्रदेशमा पर्दछन्।



  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार २०:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया