नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगद रुपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिकाको उपाध्यक्ष सीता तामाङले जानकारी दिइन्।
उनका अनुसार एसईईमा चार जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई ५० हजार रुपैयाँ र तीन दशमलव छ देखि चारभन्दा कम जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद २० हजार रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको छ ।
शिक्षा शाखा प्रमुख शेरसिंह रावतले यो व्यवस्था चालु शैक्षिकसत्रदेखि सुरु गर्न लागिएको जनाउँदै आवश्यक बजेटको सुनिश्चित भइसकेको र कानुनी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको बताए ।
६ वडा रहेको म्यागङ गाँउपालिकामा माध्यमिक तहसम्म अध्ययन गराउने विद्यालयको संख्या सात रहेको छ । ती विद्यालयमा चालु शैक्षिक सत्रमा एसईई दिने विद्यार्थीको सङ्ख्या तीनसय हाराहारीमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।