जाडो छेक्ने सिरक गर्मीमा वितरण, वडाअध्यक्ष भन्छन् - आगामी जाडोमा काम लाग्नेछ

धनुषाको एक पालिकाले जाडोमा बाँड्नुपर्ने सिरक गर्मी सुरु भएपछि बाँड्न सुरु गरेको छ । जिल्लाको नगराईन नगरपालिकाले जाडो छल्न हिउँदमा चाहिने फाइबर सिरक गर्मी सुरु भएपछि बाँड्न थालेको हो । 

नगराइन नगरपालिका वडा नम्बर–७ का वडाअध्यक्ष सूर्यनारायण साहले जाडोबाट जोगिन भन्दै आफ्नो वडाका जेष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई सिरक वितरण गरेका छन् । 
वडा कार्यालयले शुक्रबार नगरप्रमुख विनयकुमार यादव र प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णको उपस्थितीमा वडा नम्बर–७ का २ सयभन्दा बढि जेष्ठ नागरिक, दलित विपन्न तथा अपाङ्गलाई फाइबार सिरक वितरण गरेको छ । 

वडाध्यक्ष साहले वडाको ७ लाख रुपैयाँ बजेटबाट ३०१ जेष्ठ नागरिक, दलित एवं अपाङ्गलाई फाइबार सिरक वितरण गर्ने योजना रहेको जानकारी दिए । उनले २ हजार २ सय रुपैयाँको दरले एउटा सिरका खरिद गरिएको बताए ।

उनले नगरपालिकामा लामो विवादपश्चात् गत माघ १८ गते नगरसभा हुँदा ढिलो भएको बताउँदै सिरक वितरण गर्न ढिलो भएको स्वीकार गरे । गर्मी सुरु भएपछि सिरक वितरण गरिएपनि आगामी जाडोमा काम लाग्ने वडाध्यक्ष साहको भनाइ छ ।

यता, स्थानीयले भने शितलहरमा जसोतसो गुजारा गरेका नगरवासीलाई गर्मीमा सिरक वितरण गरेर वडा कार्यालयले मजाक नै बनाएको गुनासो गरेका छन् । 

स्थानीय एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘जाडो सकिएर गर्मी सुरु भएपछि नगराइन नगरपालिकाले न्यानो सिरक वितरण सुरु गर्नु मजाक जस्तै छ ।’
यसअिघ जाडो र शितलहरमा गरीब विपन्नहरु प्रभावित भएको बेला न्यानो सिरक नदिएका वडाध्यक्ष साहले गर्मीमा सिरक बाँड्दा स्थानीयले उनको नैतिकता र कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । 





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १४:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया