तराई–मधेस लोकतान्त्रिक पार्टीसहित पाँच राजनीतिक दलबीच कार्यगत एकता हुने भएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीसहित नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय सद्भावना पार्टीले ‘लोकतान्त्रिक मधेसी मोर्चा’को रुपमा एकजुट हुने निर्णय गरेको हो ।
शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा पाँचै दलका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलले जानकारी दिए ।
बैठकमा तमलोपा अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो, नेपाल लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष सुरेशकुमार गुप्ता, ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुर र राष्ट्रिय सद्भावना पार्टीका महासचिव रविन्द्र प्रसाद सिंह, विभा ठाकुर, सतीश लाल दास, रविशंकर लाल (सुभाष कर्ण), उमेशकुमार मण्डल, नागेन्द्र सिंह, सरोजकुमार मिश्रलगायत नेतारू उपस्थित थिए ।
शनिबारको बैठकमा तमलोपाका वरिष्ठ नेता डा. विजयकुमार सिंहले कार्यदलले तयार गरेको ‘लोकतान्त्रिक मधेसी मोर्चा’को साझा अवधारणा–पत्र प्रस्तुत गरेका थिए ।
बैठकले ‘लोकतान्त्रिक मधेसी मोर्चा’को साझा अवधारणा–पत्र चैत १३ गते जनकपुरधाममा सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल लोकतान्त्रिक पार्टीले पार्टीभित्र छलफल गरी अन्तिम निर्णय लिन बाँकी रहे पनि साझा अवधारणामा राखिएका विषयसँग आफूहरू सहमत रहेको जनाएको छ ।
तमलोपाका केन्द्रीय सदस्य उमेशकुमार मण्डलले यी पाँच दल एकै स्थानमा आउनु मधेस मुद्दाको निमित्त सुखद् खबर भएको बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।