आज स्ववियु निर्वाचन : नेतृत्व छान्दै विद्यार्थी
चार क्याम्पसमा विद्युतीय मतदान

झण्डै १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । निर्वाचनका लागि मतदानको समय बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्धारण गरिएको छ ।  

पटकपटक घोषणा भए पनि यसअघि स्ववियु निर्वाचन हुन सकेको थिएन । आज हुने स्ववियु निर्वाचनबाट राजनीतिक दलदेखि विद्यार्थी सङ्गठनसम्म उत्साही भएका छन् ।

उम्मेदवारी दर्तादेखि नै उत्साहपूर्ण रुपमा लागेका विद्यार्थी सङ्गठन  निर्वाचनका लागि झनै उत्साही भएका छन् । उनीहरू अहिले आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् । 

देशभरिका त्रिविका ६२ आङ्गिक क्याम्पस र एक हजार ४० क्याम्पसमा एकैदिन हुने निर्वाचनले मुलुक स्ववियु निर्वाचनमय भएको छ । विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन हुँदै आएको छ ।

स्ववियु निर्वाचन २०६५ सालदेखि यता नियमित हुन सकेको छैन । वि.सं २०५४ मा भएको स्थानीय तहको निर्वाचन एकैपटक गणतन्त्र आइसकेपछि २०७४ सालमा भएको थियो । अहिले स्ववियु निर्वाचन पनि करिब १४ वर्षपछि हुन लागेको हो । 

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारी सरकार, राजनीतिक दल र विद्यार्थी सङ्गठनको सहयोगका कारणले अहिले निर्वाचन सम्भव भएको बताउँछन् ।



केही क्याम्पसमा विद्यार्थी सङ्गठनबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रिया अगाडि नबढेको उनको भनाइ छ। ती क्याम्पस यथाशीघ्र निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिइसकेको समेत अधिकारीले बताए ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आकर्षण घटेको बताए । उनले १४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनका कारण विद्यार्थी उत्साहित भएको बताए ।



अनेरास्ववियु क्रान्तिकारीका महासचिव दीपेश पुनले स्ववियु निर्वाचन नहुँदा विद्यार्थी आन्दोलन कमजोर भएको बताए । सबै विद्यार्थीको एक मात्र एजेन्डा यही भएकाले स्ववियु निर्वाचन सम्भव भएको उनको भनाइ छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले  स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको उचाइ बढाउने बताए ।

नेपाल विद्यार्थी सङ्घका नेता दिनेश शाहीले विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनका सन्दर्भमा एक भएकाले यो सम्भव भएको बताए । स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा सत्तारूढ गठबन्धनका विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुले तालमेल गरेका छन् । 

स्ववियु निर्वाचनमा उम्मेदवारका लागि उमेर हदबन्दी तोकिएको छ । वि.सं २०५१ चैत २८ गतेपछि जन्मिएका विद्यार्थी मात्र उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ ।

पानीका बोतल, पेट्रोल, डिजेल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोतल, रङ्ग, मसी मतदानस्थलमा लैजान निषेध गरिएको छ । यस्तै, मोबाइल, क्यामेरा, झोला, लौरो, हेलमेट, चाबी, लाइटर, सलाई, नङकट, धारिलो हतियार, भाला, खुकुरी, चक्कु, छुरी जस्ता वस्तु मतदानस्थलमा लैजान प्रतिबन्ध गरिएको छ ।

१० क्याम्पसमा निर्वाचन नहुने

विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय त्रिविअन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा निर्वाचन नहुने भएको छ ।

विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो ।

स्ववियुको निर्वाचन गराउने त्रिविअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, केन्द्रीय आयुर्वेद क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ । 

त्यस्तै, आङ्गिकअन्तर्गत नै उपत्यकाबाहिरका पोखरास्थित पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा पनि निर्वाचन प्रक्रिया सुरु भएको छैन ।   

यीमध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ । केहीमा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएपछि प्रक्रिया रोकिएको छ । प्रक्रिया रोकिएकामध्ये त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले चैत ९ गते मतदान गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जनाए । 

निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले जानकारी दिए । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ ।

उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२/१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ ।

उनले चार क्याम्पसमा मतपरिणाम आजै सार्वजनिकसमेत हुने बताए । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा ३ हजार ३ सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा २ हजार ६ सय ९९ र धरानमा १ हजार ९ सय ४१ मतदाता छन् । 

  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार ६:५२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया