स्ववियु निर्वाचन : नेतृत्व छान्न मतदान जारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।

देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।  त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले  मतदान दिउँसो ४ बजेसम्म हुने जानकारी दिए ।

१४ वर्षपछि हुन थालेको स्ववियु निर्वाचनमा विद्यार्थी उत्साही भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन वि.सं २०६५ देखियता नियमित हुनसकेको छैन ।

उपत्यकाका क्याम्पसमा त्रिवि केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, सरस्वती क्याम्पस, महेन्द्ररत्न बहुमुखी क्याम्पस, थापाथली इञ्जिनियरिङ क्याम्पस, पुल्चोक इञ्जिनियरिङ क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पसलगायत अधिकांश क्याम्पस मतदान सुरु भएको उनले जानकारी दिए । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । 

सरकारले विश्वविद्यालयमा अध्ययरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यन्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ । 



 १३ क्याम्पसमा निर्वाचन रोकियो

उपत्यका सबैजसो क्याम्पसमा मतदान भइरहे पनि देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३  क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।



विद्यार्थी सङ्गठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध रहेको छ । नेपाल कमर्स क्याम्पसमा सोमबार अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो ।

यस्तै, सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ ।

यस्तै, त्रिचन्द्र क्याम्पसमा यही चैत ९ गतेका लागि तोकिएको छ ।  

  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार ९:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया