धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्रीले गर्ने

धनगढीमा चैत्र दोस्रो साता हुने विश्व नेपाली नारी साहित्य सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा धनगढीमा चैत्र १० गतेदेखि १३ गतेसम्म चार दिन सम्मेलन हुने छ ।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जानकारी दिएका छन् ।

समारोहमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिनेछ । अध्यक्ष पाण्डेयका अनुसार साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्रि–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ ।

सम्मेलनमा विलक्षण प्रतिभाशाली बालिका प्रिन्सा रेग्मी, स्थापित समाजसेवी अनुराधा कोइराला, मधेसका मुर्धन्य साहित्यकार राजेन्द्र विमल, गजलकार तिलक पेला, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा अमेरिका पनि सहभागी हुनेछन् ।

सम्मेलन आयोजनाका लागि मूल आयोजक समितिका साथै डेढ दर्जन बढी उपसमिति गठन भएका छन् । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको अध्यक्ष पाण्डेयले बताए । सम्मेलनमा सञ्चालन गरिने अन्तरसंवाद सत्रहरूको टुंगो लगाउने काम भइरहेको बताए ।

यस्तै कार्यक्रम मूल आयोजक समितिका संयोजक वरिष्ठ लोक गायक यज्ञराज उपाध्ययले धनगढीलाई बौद्धिक बहसको नगरिका रूपमा स्थापित गर्न यो कार्यक्रमको आयोजना गरिने बताए । 



‘यसले उहाँको भाषा, साहित्य, कला र संस्कृतिलाई विश्वव्यापी गर्न सहयोग पुर्‍याउने हाम्रो विश्वास छ । हामीले हाम्रा अतिथिहरूलाई यहाँका विशेष पहिचान बोकेका झाकि र कला, संस्कृति देखाउनेछौं । यसले हाम्रो संस्कृतिलाई विश्वभर छरिएर रहेका नेपालीभाषी साहित्यकारहरूले बुझ्ने अवसर पाउनुहुनेछ,’ उनले भने ।

उनले प्यानल डिस्कसनमा कला, संस्कृति, राजनीतिक परिवेशलगायत थुप्रै विषयमा प्यानल डिस्कसन पनि हुने बताएका छन् ।



सम्मेलन आयोजनाका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साहित्य समाजले यसअघि धनगढीमा ०७६ सालमा विश्व नेपाली साहित्य सम्मेलन र ०७८ सालमा नेपाली साहित्य सम्मेलन आयोजना गरिसकेको छ ।

  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार २०:४६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया