नेकपा सचिवालय बैठक विनानिष्कर्ष सकियो, भोलि पुनः बस्ने

काठमाडौं– सांगठनिक एकता कार्यदलले बुझाएको प्रतिवेदनमाथि सामूहिक छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक विनानिष्कर्ष सकिएको छ । बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा कार्यदलका सदस्यसहित सामूहिक छलफल गर्न बसेको सचिवालय बैठक विनानिष्कर्ष सकिएको हो । 

‘आज त्यस्तो कुनै नयाँ निर्णय भएन,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘भोलि बिहान ९ बजे पुनः बैठक बस्छ ।’ सचिवालय बैठकमा कार्यदलका सदस्यहरूले आ–आफ्नो विचार राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने, ‘कार्यदलका साथीहरूले आफ्नो विचार राख्नुभयो ।’
 
कार्यदलले काम गर्नलाई थप समय मागेको श्रेष्ठले जानकारी दिए । उनले भने, ‘कार्यदलको रिपोर्टमा थप काम गर्नलाई समय चाहिएको भनिएको छ, तर अब के गर्ने भन्नेबारेमा भोलि सचिवालय वैठकले छलफल गरेर निर्णय गर्छ ।’ 

केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने कुरा ल्याउनुभएको हो भन्ने फरकधारको प्रश्नमा नेता श्रेष्ठले विभिन्न विचार आएकाले यही गर्ने भन्ने कुनै ठोस निर्णय नभएको जानकारी दिए । 

कार्यदलले सोमबार पार्टी एकताको बाँकी काम टुंगो लगाएर सचिवालयलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालयमा छलफल भएको थियो । आज बसेको बैठक निष्कर्षविहीन भएपछि नेकपाको सांगठनिक एकताको काम लम्बिएको छ । कार्यदल र सचिवालयको संयुक्त बैठकबाट एकतासम्बन्धी विषयलाई टुंगो लगाउने र देशव्यापी रूपमा अभियान सञ्चालन गर्ने मनस्थितिमा सचिवालय पुगेको बताइएको छ । 

पार्टीको स्थायी समितिको गत १२ पुसको बैठकले सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, लेखराज भट्ट, रघुवीर महासेठ र शंकर पोखरेल रहेको कार्यदललाई एकता प्रक्रिया टुंगो लगाउने जिम्मेवारी दिइएको थियो । 





  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार १३:३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया