करण केसीलगायत गण्डकी प्रदेशका क्रिकेट खेलाडीलाई सम्मान

नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु–१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको छ ।

यू–१९ विश्वकपमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई जनही पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । त्यस्तै लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पुर्‍याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी लाई मञ्चले २० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

आइसिसी विश्वकप लिग टु का खेलमा केसीले कूल ५० विकेट लिएका थिए र साथै अन्य तीनजना खेलाडीले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

उनीहरूलाई मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलगायतले सम्मान गरे। 

उक्त अवसरमा पोखरा क्रिकेट एकेडेमीका तर्फबाट चारैजना खेलाडीलाई जनही पाँच–पाँच हजार प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

पोखरा रंगशालामा रहेको क्रिकेट मैदान छिट्टै स्तरोन्नति हुनुपर्ने उल्लेख गर्दै उनले रंगशालासहितका क्रिकेट रंगशाला स्तरोन्नति हुनसके पर्यटक खोज्न टाढा जान नपर्ने बताए । 



मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जीवनले दिएको संस्कार बिर्सन नहुने बताए ।

मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासनसँगै प्रशिक्षकको निर्देशनलाई पालना गर्दै अघि बढ्नुपर्ने बताए । 



पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुँवरले नेपालले पाएको सफलताले गौरवान्वित बनाएको बताए । 

  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १६:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया