\
नेपाल भुटान र लाओससम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आजदेखि सुरु हुँदैछ । १७ चैतसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक नेपाल र लाओसले प्रतिस्पर्धा गर्दैछन् ।
नेपाल र लाओसबीचको खेल साँझ ६ बजेदेखि सुरु हुनेछ । दशरथ रंगशालामा हुने खेलमा छोटो समयको तयारी चुनौतीपूर्ण भएको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले बताएका छन् । उनले छोटो समयलाई स्वीकारेर घरेलु मैदानमा आयोजना हुन फुटबल प्रतियोगिता खेल्ने जनाए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार गरेको खेलअघिको पत्रकार सम्मेलनमा कप्तान किरणले छोटो समयमा तयारी भएको र चुनौतीपूर्ण रहेको बताएका हुन् । भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडी सबै फिट रहेको र लाओससँग हुने खेलका लागि टोली तयार पनि उनले बताए ।
यही प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफूले राम्रो टोली निर्माण गरेको जानकारी दिए । तीन दिनको तयारी गर्दा टोलीमा अधिकांश युवा खेलाडी समेटिएको उनको भनाइ छ ।
लिगका दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निर्माण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने उनको दाबी छ । सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले चैत १४ मा भुटानसँग खेल्नेछ। चैत ११ गते भुटान र लाओस भिड्नेछन्। फाइनल खेल चैत १७ मा हुनेछ ।
प्रतियोगितका लागि टिकटदर सामान्य प्यारापिटतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार राखिएको छ । विजेताले पाँच हजार डलर पुरस्कार पाउने भएको छ । प्रतियोगिता प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनको एनटिभी प्लसले गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।