यु–१६ क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट सुरु

राष्ट्रिय स्तरको यु–१६ क्रिकेट प्रतियोगिता खेल्न जिल्ला जिल्लाबाट खेलाडी छनोट चरणको कार्य प्रारम्भ भएको छ ।
 
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय स्तरको यु–१६ खेल प्रतियोगिताको आयोजना गर्न लागेकोले जिल्ला जिल्लाबाट खेलाडी छनोट गर्न सुरु गरिएको हो । 

यसैबीच, धनुषा क्रिकेट संघले पनि यस जिल्लाबाट खेलाडी छनोटको कार्य प्रारम्भ गरेको संघका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु)ले बताए ।
 
पहिलो चरणमा जिल्लाबाट खेलाडी छनोट गरेर जिल्लाको टिम बनाइने उनले जानकारी दिए । 

त्यसपछि मधेस प्रदेशका जिल्लाबाट छनोट गरिएका खेलाडीहरुबिच प्रदेशस्तरको प्रतिस्पर्धा गराइने र त्यसबाट छनोट हुने टिमले काठमाडौंमा आयोजना हुने यु–१६ खेल खेल्ने उनले जानकारी दिए । 

एउटा जिल्लाबाट १४ जना खेलाडी छनोट गरिने र पहिलो चरणमा ग्राउण्डमा आउने अवसर सबैलाई दिएर उनीहरुबिच नै प्रतिस्पर्धा गराइने भएको छ ।  

उनले भने, ‘हामी पहिलो चरणमा बुधबारदेखि खेलाडी छनोटको प्रक्रिया प्रारम्भ गरेका छौं । छनोट चरणमा सहभागी भएका खेलाडीहरुबिच जिल्ला स्तरको प्रतियोगिता गराइनेछ । त्यसपछि त्यसबाट छनोट हुने खेलाडी फेरि प्रदेश स्तरको प्रतियोगिताका लागि तयार हुन्छन् । त्यस खेलमा सातवटै प्रदेशबाट छनोट गरिएका खेलाडीहरुलाई समावेश गरिनेछ ।’

उक्त प्रदेशस्तरीय छनोट प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाबाट छनोट भएका खेलाडीमध्येबाट प्रदेशको टोली छनोट गर्न प्रतियोगिता हुने पूर्वप्रशिक्षक नविन सिंहले बताए । 



प्रदेशबाट छनोट भएको टोलील नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्नेछ । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीबाट एसिसी यु–१६ नेपाली टोलीको छनोट हुने बताइएको छ ।

‘चैत १५ गतेसम्म जिल्लाबाट खेलाडी छनोट गरेर प्रदेशको क्रिकेट संघलाई नामावली बुझाउन भनिएको छ, ’उनले भने, ‘त्यसपछि मधेस प्रदेश क्रिकेट संघले छनोट चरणको खेल सुरु गर्नेछ । वैशाखको पहिलो वा दोस्रो सप्ताहमा राष्ट्रिय स्तरको यु–१६ प्रतियोगिताको आयोजना गरिनेछ ।’



खेल र खेलाडीको विकास तथा युवाहरुलाई खेलप्रति रुचि जगाउन प्रतियोगिताको आयोजना गरिने भएको छ ।

 

 

 

  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार २०:५३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया