कोशी नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बूको निधन

कोशी प्रदेश नामाकंन खारेजीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको निधन भएको छ । गत ५ चैतमा विराटनगरमा भएको प्रदर्शनमा उनी घाइते भएका थिए ।  

लाजेहाङ सुक्वाबा भनेर चिनिने उनको शुक्रबार बिहान निधन भएको हो । धरान–१५ घर भएका लिम्बूको बीपी प्रतिष्ठान अस्पतालबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहँदा निधन भएको नामकरणविरुद्धको संयुक्त सङ्घर्ष समितिले जनाएको छ । 

समितिले लिम्बूको हत्याको जिम्मा राज्यले लिनुपर्नेसमेत बताएको छ । ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षड्यन्त्रमूलक ढङ्गले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनुपर्दछ’, शुक्रबार विज्ञप्ति जारी गर्दै समितिले भनेको छ । 

४२ वर्षीय लाजेहाङ आन्दोलनरत दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बूवानको भ्रातृ संगठन ‘लिम्बूवान भोलेन्टियर्स’का केन्द्रीय सह–कमान्डरसमेत हुन् । 

तेह्रथुमको साब्लामा जन्मिएका उनको घर मोरङको लालभित्तीमा छ । तर, पछिल्लो समय उनी सुनसरीको धरान बस्दै आएका थिए ।  

५ चैतमा प्रदेश राजधानी विराटनगरमा भएको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले लाठीचार्ज गर्दा पदम गम्भीर घाइते भएका थिए ।   





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ८:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया