गण्डकी प्रदेशमा माओवादी संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलका नेता हरिबहादुर चुमानका अनुसार बिहान ११ बजे बस्ने बैठकले नेकपा एमालेलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गर्दैछ ।
यस विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनमार्फत बिहीबार नै जानकारी गराएको र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको पनि चुमानले जानकारी दिए ।
‘समर्थन फिर्ता लिने काठमाडौंबाट खबर आयो । सबै साथी बैठक बस्नलाई तयार छन् । आज बैठक बस्दैछौँ,’ चुमानले भने ।
माओवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित वर्तमान सरकारमा सहभागी छ ।
२५ पुसमा गण्डकीमा अधिकारीको नेतृत्वको सरकार गठन भएको थियो । सोही दिन माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री बनेका थिए ।
१० माघमा एमालेका रोशनबहादुर गाहा र माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउँदै सरकारलाई पूर्णता दिइएको थियो । एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिएसँगै नयाँ नेतृत्वका लागि माओवादी र कांग्रेसबीच रस्साकस्सी सुरु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।