पाकिस्तानविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

पाकिस्तानविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको छ ।

योसँगै अफगानिस्तानले इतिहास रच्यो । उसले क्रिकेट इतिहासमा पहिलोपटक पाकिस्तानलाई हराएको हो । यसअघि अफगानिस्तानले पाकिस्तानलाई कुनै पनि प्रारूपमा हराउन सकेको थिएन ।

गएराति सम्पन्न खेलमा पाकिस्तानले दिएको ९३ रनको सामान्य लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । उसका लागि मोहम्मद नाबीले ३८ बलमा तीन चौका र एक छक्कासहित अविजित ३८ रन बनाए ।

नाजिबउल्लाह जद्रानले २३ बलमा दुई चौकाको मद्दतमा १७ रनको योगदान दिए । रहमानउल्लाह गुर्बाजले १७, इब्राहिम जाद्रानले ९ र करिम जनतले ७ रन जोडे । 

पाकिस्तानका लागि इहसानुल्लाहले दुई, नसिम शाह र इमाद वसिमले एक/एक विकेट लिए । त्यसअघि शारजाहमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९२ रन बनायो ।

उसका लागि इमाद वसिमले १८, सैम अयुबले १७, तयाब ताहिरले १६, कप्तान शादब खानले १२, मोहम्मद हरिसले ६ रन बनाए । अफगानिस्तानका फजलहक फारुकी, मुजीब उर रहमान, मोहम्मद नाबीले दुई/दुई, कप्तान राशिद खान, नवीन उल हक र आजमतुल्लाह ओमरजाईले एक/एक विकेट हात पारे ।



योसँगै तीन खेलको सिरिजमा अफगानिस्तानले १–० को अग्रता लिएको छ । पाकिस्तान र अफगानिस्तानबीचको दोस्रो टी–२० खेल आइतबार हुनेछ । 



  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार ७:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया