मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता जसपाको कार्यक्रममा अतिथि

नेपालको संविधान २०७२ को धारा १६० ले महान्यायाधिवक्ताको मातहत रहने गरी प्रत्येक प्रदेशमा एक मुख्यन्यायाधिवक्ता रहने व्यवस्था गरेको छ । मुख्यन्यायाधिवक्ताको नियुक्ति मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट हुने व्यवस्था छ । 

संविधानको धारा १६०(५) मा मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानूनी सल्लाहकार हुने र संवैधानिक एवं कानूनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अधिकारीलाई राय सल्लाह दिनु मुख्यन्यायाधिवक्ताको कर्तव्य हुने संवैधानिक व्यवस्था छ ।

तर, मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता वीरेन्द्र ठाकुर भने आफ्नो काम, कर्तव्य र अधिकार बिर्सेर राजनीतिक दलको कार्यक्रममा सहभागी भएको देखिएका छन् । 

मुख्यन्यायाधिवक्ता ठाकुर जनता समाजवादी पार्टी नेपालले शनिबार बाराको कलैयामा आयोजना गरेको विधान मस्यौदामाथि प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् । 
जनता समाजवादी पार्टीमै आबद्ध रहेका उनलाई सरकारले गत कात्तिक १५ गते मधेस प्रदेश सरकारको मुख्यन्यायाधिवक्तामा नियुक्त गरेको थियो । 

मुख्यन्यायाधिवक्तालाई ऐन अनुसार प्रदेश सरकार र मातहतका निकायहरुका नाममा अदालतबाट भएका आदेश वा फैसलाको प्रभावकारी कार्यान्वयन गर्न गराउन प्रदेश सरकारका मन्त्रालय वा कार्यालयलाई पत्राचार गर्ने तथा आदेश वा फैसला कार्यान्वयनको अनुगमन गर्ने, प्रदेशको कार्यक्षेत्रको कुनै विषयमा तत्काल कानून बनाउनु पर्ने वा भइरहेको कानून संशोधन गर्नुपरेमा त्यसको कारण खुलाई प्रदेश सरकार समक्ष सिफारिस गर्ने, प्रदेश सरकारका मन्त्रालय वा कार्यालयबाट अदालतमा प्रस्तुत हुने लिखित जवाफ लगायतका कानूनी लिखतमा स्तर कायम गर्न आवश्यक समन्वय गर्ने, अदालतको फैसला कार्यान्वयन गराउन अनुमगन गर्ने, कानून निर्माण गर्न सहयोग गर्नेलगायतका काम, कर्तव्य र अधिकार तोकिएको छ । 

तर, मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता ठाकुर आफ्नो आचरण विपरित जसपाको बैठकमा उपस्थित भएको देखिएका छन् ।



अधिवक्ता राजकुमार महासेठले मुख्यन्यायाधिवक्ताको सेवा सुविधा उच्च अदालतका मुख्यन्यायाधिश सहर रहेको र संवैधानिक पदमा बसेका व्यक्ति दलीय गतिविधिमा सहभागी हुनु पदीय आचरण विपरित रहेको दाबी गरेका छन् । 

पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले मुख्यन्यायाधिवक्ताको पद उच्च अदालतको मुख्यन्यायाधीशसरह रहने भएकाले पदमा बहाल रहेसम्म सो व्यक्ति दलको कार्यक्रममा सहभागी हुनु उचित नभएको बताए ।



यता मुख्यन्यायाधिवक्ता ठाकुर आफू त्यो कार्यक्रममा सहभागी नभएको जिकिर गरेका छन् । आफू मुख्यमन्त्रीको कानूनी सल्लाहकारको नाताले उनीसँग भेट्न गएको बेला तस्बिर बाहिरिएको बताए । 

यसअघि मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता रहेका दीपेन्द्र झाले प्रदेशसभाको निर्वाचन लड्नुअघि पदबाट राजीनामा दिएर पार्टीको सदस्यता ग्रहण गरेका थिए ।

  • प्रकाशित मिति : चैत ११, २०७९ शनिबार १७:०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया