पावेलको आक्रामक ब्याटिङमा दक्षिण अफ्रिकाविरुद्ध वेस्ट इण्डिज विजयी

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा पाहुना टोली वेस्ट इण्डिज ३ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इण्डिजले १०.३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

उसका लागि कप्तान रोभम्यान पावेलले १८ बलमा एक चौका र पाँच छक्कासहित अविजित ४३ रन बनाए । त्यस्तै, जोनसन चार्ल्सले १४ बलमा तीन छक्का र एक चौकाको मद्दतमा २८ रनको पारी खेले ।  

ब्रेण्डन किंगले ८ बलमा दुई चौका र दुई छक्कासहित २३ रनको योगदान दिए । निकोलस पूरनले १६, कायल मेयर्सले ६, ओडियन स्मिथले ५, रोस्टन चेसले अविजित चार र रोमारियो सेफर्डले तीन रन जोडे ।

दक्षिण अफ्रिकाका लागि सिसान्डा मगलाले तीन, एनरिक नोर्टजे, तरबिज शाम्सी र ब्योर्न फोर्टुइनले एक/एक विकेट लिए । त्यसअघि सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा १ सय ३१ रन बनायो ।

उसका लागि डेविड मिलरले आक्रामक पारी खेले । २२ बलको सामना गरेका उनले तीन छक्का र चार चौकासहित सर्वाधिक ४८ रन बनाए । सिसान्डा मगलाले ५ बलमा दुई छक्का र एक चौकासहित अविजित १८ रन जोडे । रिजा हेन्ड्रिक्स २१, कप्तान एडन मार्कम १४ र रिली रुसो १० रनमा आउट भए ।

वेस्ट इण्डिजका लागि शेल्डन कोट्रेल, ओडियन स्मिथले दुई/दुई, रोमारियो सेफर्ड, अल्जारी जोसेफ र अकिल होसेनले एक/एक विकेट हात पारे ।  



यो जितसँगै तीन खेलको श्रृंखलामा वेस्ट इण्डिजले १–० को अग्रता लिएको छ । वेस्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेल आइतबार हुँदैछ । 



  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार ७:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया