प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछन् ।
आज सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको प्रस्तावलाई अन्तिम रूप दिन प्रधानमन्त्रीले गठबन्धनमा आवद्ध दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सुरुमा गठबन्धनका दलहरूसँग अलग–अलग छलफल गर्ने र संयुक्त छलफल गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शनिबार पार्टी पदाधिकारी बैठकमा आइतबार गठबन्धनमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । मन्त्रालय बाँडफाँटका लागि प्रधानमन्त्री प्रचण्डले खाकासमेत तयार पारिसकेको बताएका छन् ।
प्रस्तावित खाकाबारे उनले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कासँग छलफलसमेत गरेका थिए ।
सत्तारुढ दलहरूबीच मन्त्रालय भागबन्डा सहमति नजिक पुगेको नेताहरूले बताउँदै आएका छन् । अहिले सबैभन्दा बढी चासो गृह र अर्थ मन्त्रालयमा रहेको छ ।
माओवादीले गृह मन्त्रालय आफैंसँग राख्न चाहेको बताइएको छ । कांग्रेसले अर्थ मन्त्रालयमा दाबी गरेपछि माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने भएको हो ।
मन्त्रिपरिषद् विस्तार हुँदा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेर हुने सम्भावना छ । प्रधानमन्त्री प्रचण्ड उनलाई उपप्रधानसहित गृहमन्त्री बनाउने तयारीमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।