गत शुक्रबार साँझ अमेरिकाको पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ । घटनामा चारजना बेपत्ता भएका छन् ।
उद्धारकर्मीले एक जनालाई जीवितै भग्नावशेषबाट उद्धार गरेका तथा हराएकाको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन् । राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा गत शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य ६ जना घाइतेलाई अस्पताल पुर्याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
विष्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् । आधुनिक उपकरण र तालिम प्राप्त कुकुरको सहयोगमा खोजी जारी रहेको उवाल्दे प्रहरी महाशाखाले बताएको छ ।
कम्पनीले शनिबार राति एक विज्ञप्ति निकालेर घटनाबाट सबै कर्मचारी स्तब्ध भएका तथा पीडित कर्मचारीका परिवारको सहयोगमा उनीहरू केन्द्रित रहेका जनाउँदै तत्काल उद्धार र खोजमा असाधारण सक्रियता देखाएकामा सम्बद्ध सबैमा हार्दिक आभार व्यक्त गरेको छ ।
कम्पनीले आफ्ना नजिकका साथी र सहकर्मी गुमाएकामा दुःख व्यक्त गर्दै ७० वर्षभन्दा लामो समयदेखि बरोमा व्यवसाय गर्दा यस्तो अप्रिय घटना कहिल्यै नभएको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।