मेयर बालेन शाह भन्छन्– आन्दोलन गर्नेलाई खुलामञ्चमा राख्न गरिएको तयारी शङ्कास्पद

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मिटरब्याज पीडितलगायत आन्दोलन गर्नेहरूलाई शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी शङ्कास्पद रहेको बताएका छन् ।  

तराईका विभिन्न जिल्लाबाट ११ दिन पैदल हिँडेर सोमबार काठमाडौंका आइपुगेका मिटरब्याजी पीडितहरू खुलामञ्चमा प्रवेश गर्न खोजेका थिए । तर, काठमाडौं महानगरले उनीहरूलाई खुलामञ्चमा प्रवेश दिएन ।

खुलामञ्चमा प्रवेश नपाएपछि मिटरब्याज पीडितले सडकपेटीमै रात कटाए । उनीहरूलाई खुलामञ्चमा प्रवेश नदिएपछि सामाजिक सञ्जालमा काठमाडौं महानगरको आलोचना पनि भइरहेको छ ।

यहीबीचमा मेयर शाहले मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्न गरिएको तयारी शङ्कास्पद रहेको प्रतिक्रिया दिएका हुन् । उनले मिटरब्याज पीडितको आन्दोलन माइतीघरको सडकमा बस्नका लागि नभइ न्यायको लागि भएको भन्दै सरकारले केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्ने पनि उल्लेख गरेका छन् ।  

‘खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरूका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरू शङ्कास्पद छन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पहिलो, यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन, न्यायको लागि हो । शिविर बनाएर महिनौँ वा वर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केही घण्टामा न्यायको अनुभूति दिलाउनुपर्ने हो । यसो नगरी सम्पूर्ण चासो र परिश्रम नै खुलामञ्चमा नै बस्नमा प्रयोग गरे जसरी प्राथमिकतामा राखिएको छ ।’



मेयर शाहले पीडितहरू स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको पनि उल्लेख गरेका छन् । उनले पीडितलाई शिविर नभइ आज नै न्यायको अनुभूति दिलाएर सरकारले बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने पनि बताएका छन् ।

‘पीडितहरूले स्थानीय र प्रदेश सरकारबाट न्याय नपाएर काठमाडौं आइपुग्नुले हाम्रो संघीयतालाई निर्मम प्रश्न गरिरहेको छ, गाउँगाउँमा सिंहदरबारको नारालाई गिज्याइरहेको छ । यो अवस्थामा संघीय सरकारले अतिशीघ्र चासो दिनुपर्ने हो । यसै पनि न्याय माइतीघरले दिने होइन, कानुनको स्पष्टता नभएको अहिलेको अवस्थामा मन्त्रिपरिषदले दिनुपर्ने हो । पीडितहरूलाई शिविर होइन, आज नै न्यायको अनुभूति दिलाएर बेलुका घर फर्किने वातावरण बनाउनुपर्ने हो,’ मेयर शाहले भनेका छन् ।



उनले काठमाडौं महानगरले मिटरब्याज पीडितलाई सुरक्षित बसाइका लागि अन्यत्र स्थानमा विकल्प दिए पनि उनीहरूले नै खुलामञ्चभन्दा अन्य विकल्प मान्न तयार नभएको पनि उल्लेख गरेका छन् । 

‘काठमाडौं महानगरले उहाँहरूको सुरक्षित बसाइका लागि अन्यत्र सुरक्षित स्थानमा बसोबासको विकल्प दिइएको हो । तर उहाँहरूले खुलामञ्चभन्दा अन्य विकल्पहरू मान्न तयार हुनु भएन । खुलामञ्चको विषयमा अनावश्यक ऊर्जा खर्चिनभन्दा समस्या समाधानको लागि दबाब दिन र सोको लागि उपयुक्त ठाउँ प्रधानमन्त्री निवास बालुवाटार हो भन्ने सुझाव दिएपछि उहाँहरू बालुवाटारतिर लाग्नु भएको छ,’ मेयर शाहले भनेका छन् ।

उनले मिटरब्याज पीडितको आन्दोलनमा काठमाडौं महानगरको ऐक्यबद्धता रहेको पनि उल्लेख गरेका छन् ।  

  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार ९:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया