चैत २३ गतेदेखि जनकपुरधाम मेयर कप क्रिकेट हुने

जनकपुरधाममा यही चैत २३ गतेदेखि ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद’ मूल नाराकासाथ प्रदेश स्तरीय ‘जनकपुरधाम मेयर कप–२०७९’ क्रिकेट प्रतियोगिताको आयोजना हुन लागेको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाबाट एक/एक गरि ८ र कोशी, बागमती, गण्डकी तथा लुम्बिनीबाट एक/एक गरी कुल १२ वटा टिमहरूको सहभागिता रहने छ । 

प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१४ रजौलस्थित प्रस्तावित श्रीरामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने मंगलबार एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा नगरप्रमुख मनोजकुमार साहले यस ‘जनकपुरधाम मेयर कप–२०७९’लाई आफूहरूले जनकपुरधाममा अन्तर्राष्ट्रिय खेल मैदान (रंगशाला) निर्माणको एक भर्याङको रुपमा लिएको बताए । 

आयोजना हुन लागेको प्रतियोगितामा धनुषा र महोतरीका मेयर तथा सांसद विरुद्व पत्रकारहरुको मैत्रीपुर्ण खेलको समेत आयोजना हुने जनकपुरधामका मेयर मनोज कुमार साहले बताए । 

धनुषा जिल्ला क्रिकेट संघको समन्वय र फ्याक्ट नेपालको सहकार्यमा आयोजना हुन लागेको यस प्रतियोगितामा कुल ३७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको नगरप्रमुख साहले जानकारी दिए । 



लिग चरणमा खेलाइने कुल १० वटा खेलहरू दैनिक एउटा÷एउटा गरि १० दिनसम्म आयोजना हुनेछन् । चैत २३ गते विश्व खेल दिवस परेकाले सोहि अवसरमा प्रतियोगिताको समुद्घाटन गरिने बताइएको छ ।

जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकन्त पाण्डे(गुड्डु)ले प्रतियोगितामा सहभागि हुन कुनै शुल्क नलाग्ने जानकारी दिए । उनले विजेता टिमलाई २ लाख ५१ हजार र उपविजेतालाई १ लाख ५१ हजार पुरस्कारसहित ट्रफीसमेत प्रदान गरिने बताए । 



म्यान अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार र म्यान अफ दि म्याचले ३ हजार नगद पुरस्कार पाउने छन् । 

पत्रकार सम्मेलनमा जनकपुरधामका विभिन्न वडाका वडाध्यक्ष, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकन्त पाण्डे(गुड्डु), क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरू आशिष झा, सरोज मिश्र सहितकाहरूको उपस्थिति थियो ।

  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १९:१७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया