नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
टोलीमा यू–१९ कप्तान देव खनालले पुनरागमन गरेका छन् । आइसिसी यू–१९ विश्वकप छनोटका कारण उनी लिग–२ अन्तिम सिरिजहरूमा सिनियर टोलीमा थिएनन् ।
त्यस्तै, क्यानले तीव्र गतिका बलर किशोर महतोलाई पनि प्रारम्भिक टोलीमा समावेश गरेको छ । साथै, स्पिनर सूर्य तामाङ पनि २१ सदस्यीय टिमभित्र परेका छन् ।
क्यानले अब केही दिनको बन्द प्रशिक्षणबाट अन्तिम टोली घोषणा गर्नेछ । प्रतियोगिता आगामी ५ वैशाखबाट नेपालमा आयोजना हुँदैछ । प्रतियोगिताको खेल तालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।
प्रिमियर कपमा एसियाका टेस्ट खेल्नेबाहेकका १० एसोसिएट टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा छ ।
प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा नेपालसँगै ओमान, मलेसिया, कतार र साउदी अरेबिया छन् ।
समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको उद्घाटन खेल नेपाल र मलेसियाबीच ५ वैशाखमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।
नेपालले दोस्रो खेल ८ वैशाखमा ओमानसँग कीर्तिपुरमै खेल्नेछ । ओमानसँग खेल नेपालको ५० औँ ओडिआई म्याच हुनेछ । दुवै मैदानमा समूह चरणमा १०/१० र एक/एक सेमिफाइनल खेल हुनेछन् ।
फाइनल र तेस्रो स्थानको खेल कीर्तिपुरमा हुनेछ । फाइनल खेल १ मेमा हुनेछ । प्रिमियर कपको विजेता एसिया कपमा छनोट हुनेछ । विजेतासहित शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने छन् ।
एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, प्रतिस जिसी, श्याम ढकाल (मौसम), कमल सिंह ऐरी, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, किशोर महतो, करण केसी, सन्दीप लामिछाने, देव खनाल, भीम सार्की, ललितनारायण राजवंशी, अर्जुन साउद, गुलशन झा र सूर्य तामाङ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।