सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मन्त्रालय भागबन्डा र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको छ ।
मंगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलका नेताहरूलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा वितरण गरेका थिए ।
आजको बैठकमा मस्यौदामाथि नेताहरूले आ–आफ्ना सुझाव प्रस्तुत गर्ने छन् । त्यसपछि न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइने बताइएको छ ।
न्यूनतम साझा कार्यक्रममाथि छलफल भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिने नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।
यसअघि मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन/तीन मन्त्रालयमा दाबी गरेका छन् ।
त्यस्तै, लोसपाले २ मन्त्रालय माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टी पनि आफ्नो मागअनुसारका मन्त्रालय पाउनुपर्ने बताउँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।