सत्ता गठबन्धनमा सामेल दलहरूबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति जुट्न सकेको छैन । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूबीचको बैठक पुनः बस्ने गरी टुंगिएको छ ।
नेताहरूबीच लामो समय छलफल भए पनि बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठकमा मन्त्रालयको संख्यामा दलहरूले आ-आफ्नै अडान राखेपछि सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए ।
मन्त्रिपरिषद् विस्तारबारे छलफलमा नेपाली कांग्रेसले ८ मन्त्रालय र एकीकृत समाजवादीले ३ मन्त्रालय आफूले पाउनैपर्ने दाबी राखेपछि बुधबार दिउँसोको बैठकमा सहमति नजुटेको बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८ र आफ्नो दल नेकपा (माओवादी केन्द्र) लाई ५, नेकपा (एकीकृत समाजवादी) लाई २ मन्त्रालयको प्रस्ताव गरेका छन् ।
गठबन्धनका अन्य दलहरूलाई पनि प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको सिट संख्या प्रस्ताव गरे पनि सहमति जुट्न सकेको छैन । बैठक आज दिउँसो नै पुनः बस्ने तय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।