दर्शकको रोजाइमा हास्य विधाका चलचित्र

हास्य व्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन् । यी बाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेको चलचित्र हो । 

यसलाई हेर्दा नेपाली चलचित्रमा अहिले हास्य विधालाई दर्शकले रुचाएका छन् । निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन् । ‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ । यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन् । 

किनकि कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन् । तीतो–सत्य टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको छक्का पञ्जाको तीनै ‘सिरिज’ले राम्रो व्यापार गरिसकेको छ । यसले नेपाली चलचित्रको सफलतामा हास्यव्यङ्ग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ ।

‘बक्सअफिसलाई हेर्दा समेत हास्य व्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चश्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ । सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छ’, निर्देशक प्रदीप भट्टराई भन्छन् । उनले निर्देशन गरेको चलचित्र जात्रा, शत्रु गते, जात्रै जात्रा र महापुरुषले पनि राम्रो् व्यापार गरेको छ । हास्य शैलीलाई कलात्मक रूपमा प्रस्तुत गर्ने भएकाले उनीसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ । उनले यो सफलतालाई परिवर्तनको रूपमा हेर्छन् । ‘चलचित्रभित्र पहिला हास्य व्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो । हास्य कलाकारको काम नै हँसाउने हुन्थ्यो । तर अहिले हास्य कलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छ’, निर्देशक भट्टराईले भने, ‘यद्यपि हामी सचेत हुनुपर्छ । दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन । जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ ।’

हास्य कलाकार मनोज गजुरेलले हास्य-व्यङ्ग्यलाई मनोरञ्जनको रूपमा मात्र नलिन आग्रह गरे । उनले भने, ‘हामीले गर्ने व्यङ्ग्यको प्रभाव समाजमा पर्छ । त्यसैले ख्यालठट्टाका लागि मात्र सामग्री बनाउनु हुँदैन । व्यङ्ग्य नेपालको सम्पूर्ण अङ्ग हो । त्यसैले हामीले प्रस्तुत गर्ने प्रस्तुतिको महत्व छुट्टै छ ।’ केही चलचित्रसँगै टेलीचलचित्रमा अभिनय गरेका हास्य कलाकार गजुरेलले हृदय हँसाउने कोसिस गरिरहेको बताए । 

‘बाहिरी हाँसो मात्र नभई भित्री रूपमा असर गर्ने सामग्रीमा हामीले ध्यान दिनुपर्छ । चलचित्रमा दर्शकले देखाइरहनुभएको विश्वासलाई घट्न नदिई बढाउने दायित्व छ’, हास्यकलाकार गजुरेलले भने । सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले विकृतिलाई प्रहार गर्दै आम जनताको कुरालाई बाहिर ल्याउँदा हास्यव्यङ्ग्य रुचाइएको बताए । ‘चलचित्र होस् वा प्रहसन त्यहाँ जनताको मनको कुरा भनिएको आभास भएकै कारण रुचाइएको हुनुपर्छ । विकृतिलाई गरिएको व्यङ्ग्य कलाकात्मक रूपमा प्रस्तुत गरेकाले नै फस्टाएको हो,’ अध्यक्ष गाम्नागेले भने । आफू र संस्थाले हास्य व्यङ्ग्यलाई सभ्य र शालीन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने बाटोमा रहेको उनले बताए । 



निर्देशक भट्टराईले हास्य व्यङ्ग्य विधामा चलचित्र बनाइरहेकाहरू अझै मेहनती हुनुपर्ने बताए  । ‘हामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ । यसले चुनौती थपेको छ’, उनले भने, ‘टेलिचलचित्र अहिले निकै कम छन् । कुनै समय हरेक दिन हास्य विधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए । जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए । अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनुहुँदैन ।’ उनले विषयवस्तु चयन, प्रस्तुतीकरण, कलाकारको छनोटलगायतका विषयमा विशेष ध्यान दिइरहेको बताए । 

टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल भएका छन् । उनिहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन् ।  



  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १३:५३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया