मधेस प्रदेशमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेशप्रसाद यादवले यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताएका छन् ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री यादवले एसइई परीक्षा अनुशासित, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न सरोकारवाला सम्पूर्ण निकायलाई निर्देशन दिइसकिएको बताएका हुन् ।

समुदायमा शिक्षाको समग्र विकास र सुधारको लागि परीक्षा प्रणालीले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले यसपालिको एसइई परीक्षा विगतको भन्दा अनुशासित, मर्यादित र भयरहित हुने बताए । यसपालिको एसइई परीक्षामा प्रदेशका २७९ परीक्षा केन्द्रमार्फत ७९ हजार ९४ जना परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए ।

परीक्षाका लागि २७९ केन्द्राध्यक्ष, ५२८ सहायक केन्द्राध्यक्ष, ७९६ परीक्षा सहायक, ४ हजार ६९ जना निरीक्षक, १ हजार ६२८ कार्यालय सहायक गरी ७ हजार ५७९ कर्मचारी र तिनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिने मन्त्री यादवले जानकारी दिए । 

यसपालिको एसइईमा सप्तरीमा ३६ परीक्षा केन्द्रमार्फत ९ हजार ५२७, सिरहामा ४० परीक्षा केन्द्रमार्फत १० हजार १५०, धनुषामा ४३ परीक्षा केन्द्रमार्फत १२ हजार १४६, महोत्तरीमा ३१ परीक्षा केन्द्रमार्फत ९ हजार ५४, सर्लाहीमा ३७ परीक्षा केन्द्रमार्फत १० हजार ९१६, रौतहटमा ३५ परीक्षा केन्द्रमार्फत ८ हजार ९५७, बारामा ३२ परीक्षा केन्द्रमार्फत ९ हजार १७९ र पर्सामा २५ परीक्षा केन्द्रमार्फत ९ हजार १६५ जना परीक्षार्थी सहभागी हुन लागेका छन् । 

मधेस प्रदेशमा विगतदेखि एसईई परीक्षाप्रति अनेकौं गुनासा उठ्दै आएको, परीक्षा केन्द्रवरिपरि अभिभावकको अनियन्त्रित भिडभाड देखिँदै आएकोलगायत गुनासालाई व्यवस्थापन तथा नियन्त्रण गर्न मन्त्री यादवले स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई आग्रहसमेत गरेका छन् । 



उनले परीक्षार्थीका लागि परीक्षामा सहज वातावरणको सिर्जना गरिदिन तीनवटै सुरक्षा निकायलगायत सरोकारवालासँग अनुरोध गरेका छन् ।



  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १७:४०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया