मिटरब्याज पीडितको समस्याप्रति प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री यादव

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याज पीडितहरुको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । मुख्यमन्त्री यादवले पैदल हिँडेर काठमाडाैं पुगेका र काठमाडाैं पुग्न नसकी घरमै रहेका मिटरब्याज पीडितको समस्याप्रति सरकार गम्भीर रहेको बताएका हुन् ।
 
मिटरब्याज पीडितलाई सम्बाेधन गर्दै मुख्यमन्त्री यादवले भनेका छन्, ‘तपाईंको आँसुको हरेक थोपामा हाम्रो साथ छ । मधेसबाट उठे पनि यो समस्या देशकै हो ।'

एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने, दिए पनि चर्को ब्याज लगाउने अर्कोतिर मजबुरीको फाइदा उठाई गाउँघरका कतिपय साहुकारहरुमा अत्याचार नै गर्ने द्रव्यपिचाशी प्रवृत्ति देखिएको भनदै उनले शोषणविरुद्ध केन्द्र, राष्ट्र बैंक तथा प्रदेश समेतले मिलेर संयुक्त रुपमा काम गर्न, विशेष अधिकार सम्पन्न शक्तिशाली आयोग खडा गर्न जरुरी रहेको बताएका छन् । 

उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'जनताले न्याय मागिरहेका छन्, न्याय पाउनुपर्दछ । बैंकले बाटो खोल्नुपर्छ । आम जनतामा सहज र सुलभ रुपमा ऋण प्रवाह हुनुपर्दछ ।’

मुख्यमन्त्री यादवले केन्द्र सरकारले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन गरेको पहलको स्वागत गर्दै भनेका छन्, ‘तथापि यसले समग्र समस्यालाई कति सम्बोधन गर्नेछ, गम्भीर भएर सोच्न जरुरी छ । विदेश जान वा अध्ययन गर्न वा अन्य भइपरी गर्जो टार्न ऋण खोज्ने नागरिकहरुलाई मिटरब्याजीबाट बचाउँदै के कसरी सहयोग र सहकार्य गर्न सकिन्छ यसबारे ठोस गृहकार्य गरी ठोस नीति बनाउन जरुरी छ ।’

गरिब झन् गरिब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने समस्या राष्ट्रिय समृद्धिकाे बाधक बनेकाे भनदै उनले यस समस्याविरुद्ध संयुक्त रुपमा लड्न प्रदेश सरकारको तर्फबाट विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाईसमेत आह्वान गरेका छन् ।





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १८:३:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया