logo-img

उमेर ढल्केसँगै के खाने, के नखाने?

उमेरको उत्तरार्धमा मानिसको शरीरमा खानाका साथै जीवनशैली पनि परिवर्तन गर्नु आवश्यक पर्दछ । उमेरसँगै हाम्रो जिब्रोको स्वाद र खानेकुराको इच्छामा पनि परिवर्तन हुन्छ । बढ्दो उमेरमा आहारबारे जानकारी राखेर व्यवहारमा प्रयोग गर्दा जीवनको उत्तरार्द्धमा स्वस्थ भएर बाँच्ने सम्भावना बढ्छ ।

एकैपटक धेरै खाने वा मीठो लाग्यो भन्दैमा कोचेर खानुहुँदैन । बढ्दो उमेरमा युवा अवस्थामा जस्तो पचाउने शक्ति हुँदैन । साथै, शारीरिक क्रियाकलापमा पनि कमी हुन्छ । धेरै खाँदा शरीर मोटो हुन जान्छ । त्यसैले अलि–अलि गरेर ४–५ पटक खान सकिन्छ । वास्तवमा ज्येष्ठ नागरिकको उमेर समूहमा प्रवेश गर्नुअघि नै भोजन र जीवनशैली स्वस्थ बनाए उचित हुन्छ । वंशाणुगतरूपमा नै दक्षिण एसियामा नागरिकहरूको पेटमा बोसो धेरै हुन्छ । त्यो बोसो उमेर बढ्दै जाँदा बढ्न सक्छ ।

राति सुत्नुभन्दा २/३ घण्टाअघि नै खाना खानु स्वास्थ्यको लागि राम्रो मानिएको छ । साथै रातिको खाना हल्का र पचाउन सकिने हुनुपर्छ । यसै पनि हाम्रो चलनअनुसार राति कम खानु भन्ने छ । यसलाई अहिले वैज्ञानिक अनुसन्धानले थप पुष्टि गरेको मात्र हो ।

स्वास्थ्य राम्रो बनाउनका लागि उमेरसँगै खानामा पनि परिवर्तन गर्दै जानुपर्छ । तर, यस्तो परिवर्तन बिस्तारै गर्दा राम्रो हुन्छ । यसको अर्थ पहिले भात बढी खाने गरिएको छ भने भात वा रोटी कम गरेर दाल, तरकारीको मात्रा बिस्तारै बढाउँदै लैजानुपर्छ । कतिपय ज्येष्ठ नागरिकहरूले मासु खान कम गर्न थाल्छन् । यो पनि स्वस्थकर बानी हो । 

धेरै चिनी वा धेरै नुन भएको खाना, कफी, चिया वा मदिराजस्ता पेयपदार्थ, बोतलमा बन्द जुस वा पेयपदार्थ वा अत्यधिक प्रशोधित खाना युवा अवस्थादेखि नै नखानु बेस । झन् ज्येष्ठ नागरिकले त त्यागेको नै बेस हुन्छ । किनभने यस्ता खानाको प्रयोगले कलेजोमा पनि समस्या ल्याउँछ । पत्रु खाद्य पदार्थ धेरै गुलियो, धेरै नुनिलो र धेरै चिल्लोयुक्त हुन्छ । यसले शरीरको मोटोपन पनि बढाउँछ र अनेक किसिमका रोगहरू उत्पन्न गर्छ । त्यसकारण यस्ता खाद्यवस्तु सकेसम्म उपभोग नगर्न सल्लाह दिइन्छ ।

नुन बढी भएको खानाले उच्च रक्तचापको बिरामीलाई समस्या पार्न सक्छ । नुन, चिनी बढी भएको खानाले सम्पूर्ण शरीरलाई मात्र होइन, मष्तिष्कलाई पनि सुस्त बनाइदिन्छ । बिर्सने रोग लाग्ने सम्भावना पनि बढाउँछ । तर, गुलियो खानै हुँदैन भन्नेचाहिँ होइन । अलिकति मह, सखरजस्ता खानाले शरीरलाई शक्ति प्रदान गर्छ । तर, यदि मधुमेहको समस्या छ भनेचाहिँ प्रयोग नगर्दा नै राम्रो हुन्छ । अन्य प्रकारका प्रशोधित गुलिया पदार्थले पनि शरीरका अंगहरूलाई शिथिल बनाइदिने भएकाले यस्ता वस्तुको उपभोगमा सतर्क हुनुपर्छ ।



प्रोटिन हाम्रो भोजनको एक प्रमुख तत्व हो । मानव शरीरमा शरीरको जति तौल हुन्छ त्यति बराबरको ग्राम प्रोटिन चाहिन्छ भनिन्छ । जस्तो– ६० केजी तौल भएकोलाई एक दिनमा ६० ग्राम प्रोटिन चाहिन्छ । तर, धेरै प्रोटिन भएको खानाले पनि हड्डीलाई कमजोर बनाउनुका साथै हाम्रो पाचन प्रणाली, श्वासप्रश्वास र रक्तसञ्चालनमा समेत असर पर्छ । 

केही पोषणविद्ले भने एक किलो तौल बराबर ०.८ ग्राम प्रोटिन खान सल्लाह दिन्छन् । जस्तो– ६० किलोको मानिसलाई ४८ ग्राम मात्र प्रोटिन चाहिन्छ । कसैलाई मासु खान मन लाग्छ भने थोरै मात्रामा सजिलै पचाउन सक्ने गरी पकाएर खान उचित हुन्छ । जस्तै– उसिनेर, सुप बनाएर । उमेर पुगेपछि धेरै मसला हालेर लदबद गरी बनाएको मासु प्रयोग गर्दा पचाउन गाह्रो हुन्छ ।



स्वास्थ्यको लागि तरकारी र वनस्पति प्रयोग गर्दा शरीरमा सूक्ष्म पोषक तत्व आदि सजिलै जान्छ । जस्तै– जौ वा गहुँको टुसा उमारेर खाँदा धेरै पोषक तत्व प्राप्त हुन्छ र सजिलै पच्छ पनि । तर, जतिसुकै स्वस्थ खाना खाए पनि यदि बाहिरका प्याकेटका खाना, प्रशोधित चिनीको अत्यधिक प्रयोग गरियो भने स्वास्थ्य राम्रो हुँदैन ।

हाम्रो खानाका मुख्य स्रोत अन्न, गेडागुडी, हरियो तरकारी र फलफूल हुन् । यस्तो खानाले पाचन प्रणालीलाई स्वस्थ राख्छ । साथै मुटुमा बोसो पनि जम्न दिँदैन । यसमा रेसादार पदार्थ धेरै भएकोले कब्जियत हुन दिँदैन । अन्न, गेडागुडी, वा दालको टुसा उमारेर खाँदा पचाउन सजिलो हुन्छ । प्रायः टुसा काँचै पनि खान सकिन्छ वा थोरै उसिनेमा पनि यसको पौष्टिक तत्व कायम रहन्छ ।

उमेर पुगेपछि स्वस्थ रहन कोदो, जौ, तोफु, कालो भटमास, मुग दाल, गहुँको टुसा, आलु, कालो तिल, आलस आदिको प्रयोग उपयुक्त हुन्छ । किनभने यसमा पाइने सूक्ष्म तत्वहरूले शरीरलाई लाभ पुर्याउँछन् । विज्ञापनको भरमा परी बजारका प्रोटिनयुक्त भनिएका औषधि वा खाना खान जरुरी छैन ।

‘म पहिले–पहिले एक माना चामलको भात एकछाकमै खान्थेँ । अहिले त दुई मुठी खाएपछि पेट टम्म भरिन्छ । खाने इच्छा नै लाग्दैन, के भएको होला? पहिले ढुंगा, माटो खाए पनि पचाउँथें, अहिले त एक डाडु खाए पनि पेट ढुस्स हुन्छ । कतै कचरमचर खाएँ भने पखाला चल्छ । के भएको होला मेरो ज्यानलाई?’ ६० वर्ष कटेपछिका कतिपय मानिसले यस्तो भनेको सुनिन्छ । तर उनीहरूलाई थाहा हुँदैन कि शरीरमा बाहिरीसँगै भित्री अंगमा पनि परिवर्तन हुन्छ ।

अनि पेटको पाचन रस पनि कम निस्किन्छ । पहिले सजिलै पचाउने कुरा उमेर बढ्दै जाँदा पचाउन गाह्रो हुन्छ । त्यसैले उमेरसँगै खानपिन परिवर्तन गर्नै पर्छ । जसलाई धेरै बलको काम गर्नुपर्दैन, उनीहरूको त खाना पनि उमेरसँगै कम गर्दै जानुपर्छ । यदि मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या छ भने त स्वास्थ्यकर्मीसँग सल्लाह लिएर नै भोजनको व्यवस्थापन गर्नुपर्छ । 

यदि ६० वर्षको उमेरसम्म पनि मधुमेह, उच्च रक्तचाप आदिजस्ता कुनै नसर्ने रोग छैन भने ज्येष्ठ नागरिकले त बडो भाग्यमानी ठान्नुपर्छ । तर त्यसपछि पनि स्वस्थ भएर बाँच्न सकिने गरी आफ्नो भोजन र जीवनशैली स्वस्थ बनाउने काममा झन् बढी ध्यान दिनुपर्छ ।  

यो सामग्री जनस्वास्थ्य विज्ञ डा. उप्रेतीको फेसबुकबाट साभार गरिएको हो।  

  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार ९:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया