आइपिओ जारी गर्दै बन्दीपुर केबलकार

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन बन्दीपुर केबलकारले आइपिओ निष्कासन गर्ने भएको छ ।  

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्राथमिक शेयर निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ लिमिटेडसँग सम्झौता गरेको छ । लिमिटेडको प्रतिशेयर १ सय दरका २५ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

आइपिओ निस्कासनका लागि बुधबार नेपाल एसबिआई मर्चेन्ट बैङ्किङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माबीच धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

कूल ३ अर्ब ४९ करोड रुपैयाँ लागत रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ । चुक्ता पुँजीको दुई प्रतिशत अर्थात् ४ करोड ३० लाख रुपैयाँ बराबरको साधारण सेयर परियोजना प्रभावित स्थानीयलाई छुट्याइनेछ भने १० प्रतिशत अर्थात् २१ करोड ५० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणलाई छुट्याइने छ ।

परियोजना निर्माण ४ साउन २०७६ मा सुरु भएको थियो । कम्पनीले केबलकार, पाँच तारे होटल, जीप लाइन, बन्जी जम्प, क्यान्टि लिभर सहितको सिसाको पुल, क्विन टावर लगायतका पूर्वाधार निर्माण गर्दैछ ।  

कम्पनीले २५ वैशाख २०८० मा केबलकार सञ्चालनका लागि परीक्षण गर्ने तयारी थालेको छ । साथै, पाँच तारे होटल आगामी मङ्सिरमा सञ्चालन गर्ने कम्पनीको तयारी छ ।



बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्ने केबलकारको लम्बाइ एक किलोमिटर हुनेछ ।  



  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार १२:४८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया