तेस्रो संस्करणको ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि पनि नेपाल एपिएफ क्लबले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपिएफले लगातार तेस्रोपटक उपाधि जितेको हो ।
कोशी प्रदेशले भने अहिलेसम्म उपाधि जित्न सकेको छैन । फाइनलमा एपिएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान रुविना क्षेत्रीले ४१ बलमा सर्वाधिक ३५ रन बनाइन् । त्यस्तै, लकिता राजवंशीले अविजित २१ र अप्सरी बेगमले १० रन जोडे । एपिएफका लागि बिनु बुढाले दुई, सोनु खड्का, रेखा रावल र नेरी थापाले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि ओपनर तथा कप्तान सीता राना मगरले ६८ बलमा ७९ रनको अर्धशतकीय पारी खेलिन् । त्यसक्रममा उनले ९ चौका र २ छक्का प्रहार गरिन् ।
इन्दु बर्माले ४१ बलमा ५१ रन बनाइन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो । कोशीका लागि अलिसा खडियाले मात्र एक विकेट लिन सकिन् । एपिएफ अपराजित रहँदै च्याम्पियन बनेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।