नेपालमा मिटू
डा. भट्टचनको बचाउ र विरोधमा को उत्रिए ?

काठमाडाै‌ं– त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. कृष्णबहादुर भट्टचनलाई उनकै विद्यार्थीले यौनहिंसाको आरोप लगाएपछि उनको बचाउ र विरोधका स्वरहरू पनि सार्वजनिक हुन थालेका छन् ।

अंग्रेजी दैनिक ‘काठमान्डु पोस्ट’ले केही समयअघि प्रा. भट्टचनका तीन पूर्वविद्यार्थीको बयान उद्धृत गर्दै उनले महिला विद्यार्थीसँग यौन दुव्यर्वहार गर्ने गरेको समाचार प्रकाशित गरेको थियो । त्यसअघि ‘द रेकर्ड नेपाल’ अनलाइन पत्रिकाले अरू दुई विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागमा भोगेको त्यस्तै अनुभव प्रकाशित गरेको थियो तर त्यस्तो दुव्यर्वहार गर्ने व्यक्तिको भने नाम उल्लेख थिएन ।

‘काठमान्डु पोस्ट’ले नाम र तस्विरसहित डा. भट्टचनलाई आरोपित गर्ने समाचार प्रकाशित गरेपछि भने यो घटनाले तरंग उत्पन्न गरेको छ । एकथरीले यसलाई नेपालको मिटू आन्दोलनको एक महत्त्वपूर्ण घटनाका रूपमा व्याख्या गरेका छन् भने अर्कोथरीले आदिवासी, जनजातिलगायत सीमान्तकृत समुदायका एक बौद्धिक हस्तीलाई बदनाम गर्नका लागि निराधार समाचार प्रकाशित गरेको आरोप लगाएका छन् ।

नेपाल आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले डा. भट्टचनमाथि लगाइएका आरोप पुष्टि गर्न चुनौती दिँदै आदिवासी जनजाति आन्दोलनलाई कमजोर पार्न यसका एक बौद्धिक अभियन्तामाथि षडयन्त्र गरिएको बताएको छ । 

समाजशास्त्र विभागकै विभागीय प्रमुख रहिसकेका प्रा. ओम गुरुङको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा आदिवासी जनजाति समुदायमा लामो समयदेखि कार्यरत भट्टचनको चरित्रमा संस्था स्पष्ट भएको र उनले यौनहिंसाजस्तो कार्य गर्न नसक्ने उल्लेख गरिएको छ । ‘आदिवासी जनजाति आन्दोलनलाई बदनाम गर्न अधिकारकर्मीलाई विभिन्न आरोप लगाएर बदनाम गर्ने काम यसअघि पनि नभएका होइनन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘भट्टचनप्रतिको आरोप त्यसैको निरन्तरता हो ।’

संस्थाका तर्फबाट माघ १६ गते जारी गरिएको विज्ञप्तिमा भट्टचनले साँच्चै नै अनुचित कार्य गरेको होे भने पीडित पक्षलाई आधार प्रमाण पेस गर्नसमेत आग्रह गरिएको छ । 



आन्दोलनको उक्त विज्ञप्तिले महिला अधिकारकर्मीलाई भने रुष्ट तुल्याएको छ । आदिवासी जनजाति आन्दोलनका मुद्दा र डा. भट्टचनका यौन दुव्यर्वहारलाई एकै ठाउँमा राखेर हेर्न नहुने उनीहरूको भनाइ छ ।

बविता राई त्यस्तै एक अधिकारकर्मी हुन् । उनले ट्विट गरेकी छन्, ‘कृष्ण भट्टचनको ३४ वर्ष लामो प्राध्यापन सेवा अवधिभर कुनै विद्यार्थीमाथि कुनै यौन दुव्र्यवहार भएको जानकारी कसैबाट पाएका छैनौं रे ! अनि अहिले जानकारी पाएपछि चाहिँ किन आदिवासी जनजाति आन्दोलनसित जोडेर उहाँलाई चोख्याइहाल्न हतार भएको त ?’ 



लेखक तथा अधिकारकर्मी अमृता लम्सालले पनि यौन दुव्यर्वहारलाई ढाकछोप गर्न अनेक बहाना र आरोप लगाएर छुटकारा दिलाउने गेम खेल्न नहुने बताएकी छन् । उनले ट्विट गरेकी छन्, ‘महत्त्वपूर्ण तथ्य ती चलिहरूको स्वाभिमान र आत्मसम्मान हो जसले निडर भएर भोलिका दिनमा सम्बन्धित व्यक्तिबाट हुन सक्ने दुव्र्यवहार रोक्न कम्मर कसे ।’

  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १०:४४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया