नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारमा ६ जनाको नाम सिफारिस गरेको छ। आगामी वैशाख १० गते हुने निर्वाचनका लागि एमालेले पूर्वआइजिपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको हो ।
एमाले तनहुँ १ को क्षेत्रीय कमिटीले खनालसहित रामबहादुर गुरुङ, किरण धिताल, मोहन विक, सोझा गुरुङ र परितोश पौडेलको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।
खनाल मंसिर ४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ मा उठेर राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए।
सो क्षेत्रबाट सांसद निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो । पौडेलसँग पराजित भएका एमालेका एकबहादुर रानाले यसपटक भने टिकटमा चासो देखाएनन् ।
सो क्षेत्रमा कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उपनिर्वाचन लड्ने भएका छन् । कांग्रेसले भट्टराईको एकल नाम सिफारिस गरिसकेको छ भने वाग्लेले रास्वपाबाट टिकट पाउने भएपछि बिहीबार मात्रै कांग्रेस छाडेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।