जनमत पार्टी तत्काल मधेस सरकारबाट नबाहिरिने
जनमतका मधेस प्रदेश संसदीय दलका नेता एवं शिक्षामन्त्री महेशप्रसाद यादव

डा. सिके राउत नेतृत्वको जनमत पार्टी तत्काल मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट नबाहिरिने भएकाे छ । 

गत ११ माघमा केन्द्र सरकारमा खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका सो पार्टीका नेता अब्दुल खानले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाए पनि मधेश सरकारबाट भने जनमत नबाहिरिने भएको हो ।  

जनमतका मधेस प्रदेशका संसदीय दलका नेतासमेत रहेका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले प्रदेश सरकारबाट जनमत पार्टी अहिले नबाहिरिने जानकारी दिए । उनले भने, ‘प्रदेशमा भने अहिले हाम्रो पार्टीको समर्थन कायमै रहने छ । केन्द्रको निर्देशनअनुसार हामी अगाडि बढ्ने छौँ ।’ 

१०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा जनमत पार्टीका प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ जना सांसद छन् । मधेस सरकारमा हाल जनमतबाट दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । मधेश प्रदेश सभामा उपसभामुख पनि जनमतबाटै रहेका छन् । 

मधेस प्रदेशमा जनमतबाट समानुपातिक सांसद वसन्त कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, सप्तरी २ (ख) बाट निर्वाचित महेशप्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री र सिरहा २ (क) बाट निर्वाचित सञ्जयकुमार यादव राज्यमन्त्री छन् ।  

यता, जनमत पार्टीका अध्यक्ष राउतले आफ्नो पार्टी मन्त्री पदको भोको नरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै राउतले ट्विट गर्दै यस्तो प्रतिक्रिया जनाएका हुन् ।



सरकारमा खानेपानी मन्त्रीको भूमिकामा रहेका अब्दुल खानले राजीनामा दिएपछि उनलाई बधाई दिँदै राउतले लेखेका छन्, ‘मा. अब्दुल खानलाई धेरै-धेरै बधाई छ– उहाँले राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन ।’

राउतले आफूहरू जनताको सेवक रहेको पनि जनाएका छन् । उनले लेखेका छन्, ‘जनतासँग गरेको बाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने टाँसिरहनुको औचित्य हुँदैन ।’



  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १८:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया