प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले पीडितहरूसँग छलफल गरेका छन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए । उनीहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकारले कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्ने बताएका छन् । उनले न्याय मिल्ने भन्दै पीडितहरूलाई ढुक्क हुनसमेत आग्रह गरेका छन् । पीडितहरूले प्रधानमन्त्री समक्ष आफूहरूलाई मिटरब्याजका कारण निकै समस्या भएको सुनाएका थिए ।
तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौं आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ ।
अधिकारसम्पन्न आयोग गठन गर्नुपर्नेलगायतका माग भने गृहमन्त्रालयले सम्बोधन गरिसकेको छ । शुक्रबार उपप्रधानमन्त्री एवं नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेपछि मिटरब्याज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्ने पहिलो निर्णय गरेको र आउँदो मन्त्रिपरिषद्मा प्रस्ताव लिएर जाने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।