काठमाडौं– खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले मेलम्ची खानेपानी आयोजनामाथि कसैको गिद्धेदृष्टि पर्न नदिने बताएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका पूरक प्रश्नको जवाफ दिँदै मन्त्री मगरले उक्त कुरा बताएकी हुन् ।
खानेपानी मन्त्रालयका पूर्वसचिव गजेन्द्र ठाकुरको प्रसंगमा मन्त्री मगरले भनिन्, ‘मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो । मेलम्ची उपत्यकावासीहरूको निम्ति निकै महत्त्वपूर्ण आयोजना हो । मेलम्ची मेरो सफलतासँग जोडिएको विषय हो । तसर्थ, मेलम्चीमा कुनै पनि गिद्धेनजर पर्न दिनेवाला छैन र,दिन्नँ पनि ।
मन्त्री मगरले सचिव सरुवाको विषलाई स्पष्ट पार्दै आफूले मन्त्रालय र मेलम्ची आयोजनाको फर्मुलाभित्र रहेर काम गर्न निर्देशन दिएको र काम नगरेपछि सरुवा गरेको बताइन् । उनले भनिन्, ‘मुख्यतः पहिलो प्रायोरिटी मेलम्ची आयोजना सिएमसी कम्पनी काठमाडौंवासी । नेपाली जनता यो फर्मुलाभित्र राखेर मेरो मन्त्रालयले पहिलो प्रायोरिटीमा राखेर काम गरियोस् भन्ने मेरो सचिवलाई निर्देशन थियो । तर, त्यो फर्मुलाभित्र मैले काम गरेको पाइनँ । स्वाभाविक रूपमा सचिव अरू मन्त्रालयमा सरुवा गरिएको छ ।
सांसद्हरू गगनकुमार थापा, महेश बस्नेत, डा.डिला संग्रौला, राजेन्द्रकुमार केसी, प्रेम सुवाल, बहादुरसिंह लामालगायतले मेलम्ची सिएमसी कम्पनीले आयोजनाको काम छाडेको विषय, मेचम्चीको पानी काठमाडौंवासीले कहिले खान पाउँछन् र खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सरुवा गर्नुको कारणसमेत मन्त्री मगरसँग माग गरे ।
मन्त्री मगरले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि आयोजनाको उल्लेखनीय कामहरू भएको दाबी गरिन् । उनले भनिन्, ‘मैले नेतृत्व गरिसकेपछि मेलम्चीको आयोजनालाई जुन स्पिडमा लिएर अगाडि बढेका थियौं स्वाभाभिक रूपमा उल्लेखनीय काम भएको छ ।’
सिएमसी कम्पनीको लापरबाहीका कारण मेलम्ची खानेपानी आयोजनासम्बन्धी अन्तिम रिजल्ट दिन नसकेको बताइन् । उनले जनतालाई नाफा र हित हुने गरी सिएमसी या नयाँ प्रक्रियाबाट काम गरेर छिटोभन्दा छिटो काठमाडौंवासीलाई पानी खुवाउने प्रतिबद्धता जनाइन् । उनले भनिन्, ‘जनताको अधिकतम नाफा हुने गरी जनताको हितलाई मध्यनजर गर्दे सिएमसी कम्पनी हुन्छ या नयाँ प्रक्रियाबाट हुन्छ छिटोभन्दा छिटो काठमाडौंवासीलाई पानी खुवाउने विषयमा हामी प्रतिबद्ध छौं ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।