अष्ट्रेलियाको ला–ट्रोब विश्वविद्यालयसँग नेपालका दुई कलेजले सहकार्य गर्ने

नेपालको प्रतिष्ठित सफ्टेड ग्रुप अफ कम्पनीअन्तर्गत रहेका सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई–कमर्स, सनवे इन्टरनेसनल बिजनेस स्कूल र अष्ट्रेलियाको ला–ट्रोब विश्वविद्यालयबीच बिहीबार अष्ट्रेलियामा एक सम्झौतामा हस्ताक्षर भएको छ ।
 
यो सम्झौताबाट सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई–कमर्स र सनवे इन्टरनेसनल बिजनेस स्कूलमा बिएस्सी BSc (Hons) अध्ययन गर्ने विद्यार्थीहरु लाभान्वित हुनेछन् । उनीहरूले  स्नातक पहिलो वर्ष अध्ययन गरेर दोस्रो वर्ष ला–ट्रोब विश्वविद्यालयको मेलबर्न क्याम्पसमा सम्बन्धित कार्यक्रममा सीधा स्थानान्तरण गर्न सक्नेछन् ।

यो महत्वपूर्ण सम्झौताले उल्लेखित दुई कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले अष्ट्रेलियाको उक्त कलेजमा अध्ययन गर्दा आर्थिक रुपमा पनि केही राहत पुग्नेछ । विद्यार्थीलाई योग्यतामा आधारित छात्रवृत्तिहरू उपलब्ध गराउने प्रावधान पनि यस सम्झौतामा राखिएको छ । 

ला–ट्रोब विश्वविद्यालयको मेलबर्न क्याम्पसद्वारा आज विशेष कार्यक्रम आयोजना गरिएको थियो । सफ्ट्वेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सका अध्यक्ष विज्ञान श्रेष्ठ तथा सनवे इन्टरनेसनल बिजनेस स्कुलका निर्देशक प्रमोद पौडेल र ला–ट्रोब विश्वविद्यालयका प्रोफेसर प्रकाश विराराघवनबीच सम्झौता गरिएको थियो । 

काठमाडौंको सफ्ट्वेरिका कलेज र सनवे कलेजका निर्देशक प्रमोद पौडेलले यी दुई संस्थालाई जोड्ने तथा आगामी दिनमा पनि सहकार्य गर्नका लागि आवश्यक पहल र प्रक्रिया अघि बढाएका थिए । 

यो सम्झौताले नेपाल र अष्ट्रेलियाका यी दुई संस्थाबीच परस्पर सहयोग, शिक्षक र विद्यार्थी आदानप्रदान कार्यक्रम, अनुसन्धान र अन्य संयुक्त शैक्षिक पहलको विषयमा आगामी दिनमा आपसी सहकार्य गर्न सम्भावनाको ढोका पनि खोलेको छ । 



सफ्टेड ग्रुप अफ कम्पनीको नेतृत्व गर्दै आएका विज्ञान श्रेष्ठले आज आयोजित सम्झौता समारोहमा ला–ट्रोब जस्तो प्रतिष्ठित विश्वविद्यालयसँग यस किसिमको सम्झौताले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शैक्षिक पहिचान बढाउने र दक्षिण एसियामै शिक्षाका लागि नेपाल महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना वयक्त गरे । 



ला–ट्रोब विश्वविद्यालय, शैक्षिक साझेदारीकी भाइस चान्सलर प्रोफेसर अमालिया डी लाउरियोले सफ्ट्वेरिका कलेज र सनवे कलेजजस्ता नेपालका प्रसिद्ध संस्थाहरूसँग ला–ट्रोब विश्वविद्यालयले सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् । 

उनले भनिन्,‘नेपालका यी कलेजहरुबाट अष्ट्रेलियाको ला–ट्रोब विश्वविद्यालयमा आउने विद्यार्थीहरुलाई स्वागत गर्न पाउने दिनको पर्खाइमा छौँ ।’

 

  • प्रकाशित मिति : चैत २३, २०७९ बिहीबार १९:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया