प्रधानमन्त्री दाहालको आह्वान : दिगो विकास लक्ष्य हासिल गर्न सहकार्य गरौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिगो विकासको लक्ष्य हासिल गर्न संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी, सहकारी, गैरसरकारी क्षेत्र, नागरिक समाज र विकास साझेदारबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्यको कार्यान्वयन सरकार एक्लैको प्रयत्‍नबाट सम्भव नहुने तथा यसमा निजी, सहकारी क्षेत्र, गैरसरकारी संस्था, नागरिक समाज र विकास साझेदार सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए ।

‘यी सबै क्षेत्रका बीचमा समन्वय, सहकार्य र साझेदारी हुनु आवश्यक छ । यसका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ भने अन्य क्षेत्रले आ–आफ्नो जिम्मेवारी बोध गरी दिगो विकासअनुरूपका नीति तथा कार्यक्रम कार्यान्वयनमा सरकारसँग हातेमालो गर्नु जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने । दिगो विकास लक्ष्य कार्यान्वयनमा तीनै तहका सरकारको महत्वपूर्ण जिम्मेवारी हुने भन्दै उनले संविधानले धेरै अधिकार र स्रोतसाधन प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको बताए ।  

अन्तर्राष्ट्रियरूपमा प्रतिबद्धता जनाएअनुरूप नै दिगो विकास लक्ष्य कार्यान्वयनमा सरकारको जोड रहेको उनको भनाइ छ ।  

‘हामीले दिगो विकास लक्ष्यलाई चौधौँ योजनादेखि नै बजेट तथा कार्यक्रममा आन्तरिकीकरण गर्न सुरू गरेका थियौँ, चालू पन्ध्रौँ योजना पनि दिगो विकास लक्ष्यसँग सामञ्जस्य कायम गरी तयार गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 





  • प्रकाशित मिति : चैत २४, २०७९ शुक्रबार १३:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया