केही वर्षअगाडि सुदूरपश्चिमका पहाडी जिल्लामा मात्र मनाइने ‘रनपुतला’ नाच बिस्तारै तराईतिर पनि मनाइन थालेको छ । पहाडमा मनाइने रनपुतला नाच पछिल्लो समय विस्तार हुँदै गएको छ ।
परम्परागत रूपमा चल्दै आएको रनपुतला पछिल्लो समयमा सुदूर पश्चिमेलीका छोरीसँग भेट गराउने तथा सुदूरको पहिचानको पर्वको रूपमा लिइने गरेको छ । यसमा देउडामा एकतिर विवाह भएकी छोरीहरू र एकातिर विवाह नभएकी छोरीहरूबिच जानकारीमूलक सन्देशका गीतहरू गाइने गरिन्छ ।
यसमा काल्पनिक दुलहा दुलहीको बिहे गराइ रमाइलो गरिन्छ । विशेष गरी महिलाले सानो कपडाको पुतला बनाई दुलाहा दुलहीको बिहे गर्ने प्रचलनमा रहेको छ । महिलाले चौबन्दी चोली र धोती लगाएर कम्मरमा सेतो पटुका बाँधेर त्यसकैको सानो भागलाई हातले फिर्काउँदै पुतलाका पीडा र वेदनाबारे गीत गाउने गर्दछन् ।
विशेष गरी सुदूरका पहाडी जिल्लाहरूमा यो पर्व मनाउँदा तराई बस्ने पहाडीहरूले पनि यो पर्व मनाउँदै आएका हुन् । कैलालीको धनगढी, चौमाला, टिकापुर, बौनिया र कञ्चनपुरको कृष्णपुर, गुलरिया, बेलौरी लगायतका क्षेत्रमा रनपुतला नाच खेलिने गरिन्छ । धनगढीको धार्मिक तथा पर्यटकीय स्थल शिवपुरी धाममा महिलाहरूले रनपुताला खेल्न सुरु गरिएको छ ।
विवाहित छोरीहरू माइती घरमा आउँदा पुतलीको भेषमा नाच्ने गरेको परम्परा रहेको पाइन्छ । विवाह गरेर पराई घर गएकी छोरी बहिनी बिसौँ पर्व नयाँ वर्षको अवसरमा समयमै आफ्नो माइतीघरमा आएर केही दिन अगाडि रनपुतला नाचको तयारी गर्ने र पर्वको दिनमा सबै दर्शकहरूलाई देखाउने गरी प्रस्तुत गर्ने गर्दछन् । यो रनपुतला नाचलाई पुतला खेल पनि भन्ने गर्दछन् ।
सुदूरपश्चिमका पहाडका केही जिल्लाहरूमा रनपुतला पर्व पुस महिनाको १५ गतेदेखि माघ ३ गतेसम्म धूमधामका साथ मनाइने गरिन्छ भने केही जिल्लाहरूमा चैत २५ देखि नयाँ वर्षको पहिलो दिनसम्म मनाइन्छ ।
यो नाचलाई छोरी बेटीलाई अनिवार्य भेट गराउने पर्व भएकाले मिलन पर्वको रूपमा पनि लिने गरिएको धनगढी उपमहानगरपालिका–३ की धनेश्वरी रेग्मीले बताइन् । ‘विवाह गरेर पराई घर गएकी छोरीहरू एक ठाउँमा जम्मा हुने र घर परिवार तथा अन्य पुराना आफ्ना साथीसँग भेट हुने भएकाले यसलाई छोरीको मिलन तथा सद्भावको पर्व भन्ने गरिन्छ’, उनले भनिन् । पहिले बर्सेनि यसरी रनपुतला खेलिने पर्व तर, पछिल्लो समय खेल्ने चलन हराउँदै गएकोमा उनले चिन्ता व्यक्त गरिन । यस्ता परम्परा पर्वहरू जोगाउन सरकारले पनि लाग्नुपर्ने उनको भनाइ छ ।
यो पर्व सयौँ वर्षभन्दा अगाडिदेखि सुरुवात भएको पुतला पर्वमा विवाह भएका नभएका छोरी राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी देउडा लगायतका खेल खेल्ने प्रचलन रहेको छ ।
रनपुतला खेल्दै छोरीहरूले पोइली घरमा भोगेका पीडाहरू र माइती घरमा विवाह नभएका युवतीहरूका नभोगेका बारेमा बनाइएका गीत गाइने गरेको धनगढीकी अर्को महिला पद्मा रावलले बताइन् ।
‘गाउँघरमा नारीहरूले छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा रनपुतला खेलिन्छ’, उनले भनिन् । ‘पङ्क्तिबद्ध भएर विरहका गीत गाउँदै नाच्दा सुदूर पहाडका बस्तीहरूमा बेग्लै यस पर्वमा रौनकता छाउँछ ।’ तर, पछिल्लो समय नयाँ पुस्तामा भने यो सहजै हस्तान्तरण हुन सकेको छैन।
पछिल्लो पीडामा भने रनपुतला प्रति त्यति रुचि देखिएको छैन । नेपाल सरकारका पूर्व सचिव झंकर विष्टले भने, ‘पश्चिमा संस्कृतिको प्रभावले नयाँ पुस्ता प्रभावित हुँदा अन्य संस्कृतिझैँ रनपुतला पनि सङ्कटमा छ, यसको जर्गेना गर्न सचेत हुन जरुरी छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।