भोपाल कारागारका ७ हजार कैदीले लिए डिप्लोमा

भारतको भोपाल केन्द्रीय कारागारले शिक्षामा सबैको अधिकार सुनिश्चित हुनुपर्ने मान्यतालाई आत्मसात गर्दै गत एक वर्षमा ६ हजार ९ सय कैदीलाई निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । सोही अवधिमा ५७ जना बन्दी कारागारबाटै स्नातकोत्तर तहको परीक्षामा सहभागी भएका छन् । 

भारत सरकारको ‘सबैका लागि शिक्षा’ अभियानअन्तर्गत केन्द्रीय कारागारले बन्दीहरूलाई अध्ययनको अवसर दिएको हो । कारागारमा रहेका ६ हजार ९ सय बन्दी गत वर्ष साक्षर भएका थिए । भोपाल केन्द्रीय कारागारका निरीक्षक राकेश भाङ्ग्रेका अनुसार गत वर्ष ३ सय कैदी स्नातक, ५७ जना स्नातकोत्तर, ४ सय ६३ जना प्राथमिक शिक्षा, ९२ जना माध्यमिक र दुई सय ४३ कैदी उच्च माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका थिए । 

१ सय ५८ जना महिला बन्दी पनि विभिन्न तहका परीक्षामा सामेल भएका थिए । कारागारकै १० जना महिलाले कम्प्युटर शिक्षामा दक्षता हासिल गरेका छन् । 

कैदीहरूलाई साक्षर बनाउन तथा उनीहरूको शिक्षाको स्तर उकास्न केन्द्र सरकारको नीतिअनुसार अध्ययनको व्यवस्था मिलाइएको निरीक्षक भाङ्ग्रे बताउँछन् । जेलमा डिप्लोमा तथा त्यसभन्दा माथिको उपाधि हासिल गरेपछि एक दिन कारागारबाट बाहिरिँदा उनीहरूको जीविकोपार्जनको माध्यम त्यही शिक्षा र सीप हुने उनी बताउँछन् ।  

इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयका विभिन्न पाठ्यक्रममा आधारित कार्यक्रम कारागारमा सञ्चालन गरिएको जानकारी दिँदै निरीक्षक भाङ्ग्रेले ग्रामीण विकास, खाद्य तथा पोषण, एचआइभी, पारिवारिक शिक्षा, मानविकी एवं व्यवस्थापनका स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालन भइरहेका बताएका छन् । 

कारगारमा रहेका ६ हजार ९ सय कैदीले गत वर्ष विभिन्न विधामा डिप्लोमा डिग्री हासिल गरेका बताउँदै निरीक्षक भाङ्ग्रेले अक्षर नै नचिनेका बन्दीलाई पहिचान गरी बिहान बेलुका पढाइने गरेको बताए । उनका अनुसार साक्षर कैदीलाई कक्षा १० र १२ को परीक्षा उत्तीर्ण हुने गरी सिकाइने गरेको छ ।  



विभिन्न स्थानीय निकाय र सङ्घसंस्थासँगको समन्वयमा रिहा भएपछि उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने प्रयास पनि भइरहेको उनले बताए ।  



  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार १३:३३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया