लगानी बोर्डले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको छ । बिहीबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बोर्डको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकले जलविद्युत् आयोजनाहरुको काम तत्काल अघि बढाउने निर्णय गरेको बताए । तल्लो अरुण, अप्पर मस्र्याङ्दी, दुधकोशी २ लगायत जलविद्युत् आयोजनालाई अघि बढाउने निर्णय गरेको उनले बताए ।
बैठकमा सिमेन्टमा लगानी भएका आयोजना पनि उत्पादन गर्ने तहमा पुगेको बारेमा पनि छलफल भएको थियो । रासायनिक मलको विषयमा विस्तृत अध्ययन गर्न दुई वैदेशिक लगानी कर्ताहरुलाई अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको महतले बताए ।
अर्थमन्त्री महतले ठूला आयोजनालाई अघि बढाउने र आगामी दिनमा लगानी बोर्डको क्षमतालाई वृद्धि गर्ने र प्राविधिक क्षमता लगायत सबै क्षमता वृद्धि गरी भविष्यमा थप लगानीको परिवेश देशमा निर्माण गर्ने कुरामा बैठकमा विशेष छलफल भएको जानकारी दिए । उनले भने, ‘चाँडोभन्दा चाँडो विना ह्यासल स्वदेशी र विदेशी लगानीकर्ताले लगानी यहाँ गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भन्ने हो, त्यही अनुसार बैठकले निर्णय गरेको छ ।’
लगानी बोर्डका उपाध्यक्षसमेत रहेका अर्थमन्त्री महतले इन्भेष्टमेण्ट समिट (लगानी सम्मेलन) गर्ने बारेमा पनि बैठकमा छलफल भएको बताए । स्वदेशी र विदेशी लगानीकर्ताले कुनै समस्या विना चाँडोभन्दा चाँडो नेपालमा लगानी गर्न सकुन् र लगानीमार्फत आर्थिक समृद्धि हुन सकोस् भन्नेकुरा बैठकमा छलफल भएको उनले बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्न आवश्यक रहेको औँल्याएको मन्त्री महतले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।